सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पैसा हैन इज्जत कमाउन समय लाग्छ’

२०७८ असोज ७, ०५:१० खबर संवाददाता

धनगढीका व्यवसायी एलिस भण्डारीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 
तपाईंका बुवाले गरेको व्यवसाय अगाडि बढाइरहँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?
अहिले विदेश जाने ट्रेन्ड नै चलेको छ। म पनि विदेश जाउ भनेर नसोचेको होइन। तर जीवनलाई क्याल्कुलेसन गरेर हेरेपछि विदेश गएर फर्केर आएर केही गरौंला भन्नत गाह्रो नै पर्‍याे। 
अधिकांश मान्छे प्रविणता तह पास गरेर विदेश जाने चलन छ। पविणता तह पास गर्दै गर्दा कति नै वर्ष भएको हुन्छ र ? १८/१९ वर्ष। एक दुई वर्ष तयारी प्रक्रियाको लागि लाग्छ फेरि ५ वर्ष पढाई गरिसकेपछि सिधै फर्किनु भन्दा एक दुई वर्ष काम गरेर केही पैसा कमाउ भन्ने हुन्छ। केही पैसा लिएर आउँदासम्म त ३० वर्षभन्दा बढी भइसकेको हुन्छ। 

३० वर्ष उमेरपछि फर्केर आएर के नै गर्न सकिन्छ। जे गर्न पनि गाह्रो नै हुन्छ। त्यसैले यो कुरालाई विचार गरेर देशको अर्थतन्त्रलाई बुझेर केही सानो नै भएपनि गर्न सक्यो भने यहीँ समाजमा स्थापित हुन त राम्रो नै हुन्छ लाग्यो। फेरि बुवाले पनि कहिल्यै विदेश जा भन्ने जस्तो कुरा पनि गर्नुभएन। बस् जे गर्छस् सानोतिनो भएपनि यतै गर भन्ने जस्तो गर्नुभयो। फेरि परिवारमा पनि मलाई सबैभन्दा बढी समर्थन गर्ने भनेको बुवा हुनुहुन्छ। मैले केही गर्छु भने उहाँले कहिल्यै नाईँ भन्नुभएन। जे गर्छस् राम्रो गर भन्नुहुन्छ। मलाई सहयोग गरिरहनु भएको हुन्छ। फेरि उहाँको समर्थनले केही गर्न प्रोत्साहन पनि भइरहेको हुन्छ। 

युवाको दृष्टिकोणबाट के देख्नुहुन्छ ? हाम्रो समाज सहि दिशातिर गइरहेको छ ?
पश्चिमको समाज थोरै पछाडि नै छ। हाम्रो यहाँको मान्छेको सोचाइ त्यति धेरै विकसित भएको छैन। हामी पूर्ण रुपले भारतमा निर्भर छौ। हामी कसरी आत्मनिर्भर हुने कहिलै सोच्दैनौँ। लकडाउनकै घटनाहरुलाई हेरौं न। कति जना खाना नपाएर फर्केर गए। हाम्रो स्थानीय अर्थात अन्य सरकारहरुले उहाँहरुलाई रोजगारी दिने विषयमा सोचिदिएको भए कति राम्रो हुन्थ्यो। फेरि हाम्रो समाज नकारात्मक छ। एउटा घरले प्रगति गर्यो भने अर्को घर नकारात्मक सोच राख्छ। एक जनाले प्रगति गरे अर्कोले नराम्रो सोच राख्छ। सहयोग गर्नुको सट्टा खुट्टा तान्ने प्रवृत्ति छ। सहयोग गरेर सँगै आफू पनि अगाडि बढौ भन्ने छैन। समाजको भलो त एक अर्कोलाई सहयोग गर्दै गएपछि हुने हो।

अहिले स्नातक पढ्दै गरेको धेरैजसो विद्यार्थीको हेर्नुभयो भने प्रविणता पछि एक दुई वर्ष ग्याप छ। कारण उनीहरुले एक दुई वर्ष बाहिरको भिसा लाउनको लागि प्रयास गर्नु भएको हुन्छ। तर जब भिसा पाउनुहुन्न अनि नेपालमा कलेज पढ्नुहुन्छ। त्यो बाहिर जाने सोचमा जानुभन्दा नेपालमा नै केही गरौं भन्ने भएको भए कति फरक हुन्थ्यो।

अहिले कुन–कुन व्यवसायिक क्रियाकलापमा हुनुहुन्छ ?
मेरो परिवारिक व्यवसाय भनेको चौराहामा रहेको समैजी स्टोर हो। त्यहाँ अहिले किरानाको समानदेखि लिएर भाँडाकुँडा, पूजाको समान, कपडा सबै पाउने नै भयो। मैले अहिले अलग नयाँ गरेको भनेको कन्स्ट्रक्सनको लाइनमा हो। एउटा फर्म दर्ता गरेर लागेको छु। लगभग १ वर्ष जति भयो। ५/६ जति काम भ्याए। रोडको तथा भवनको काम गरे।  मैले आफ्नो घर अगाडिको रोड पनि बनाए। समाजको प्रतिक्रियाको कुरामा मैले खोज्ने भनेको समाजमा सम्मान हो। पैसा भन्ने कुरा त हिजो छ आज छैन भोलि होला, मान्छेले कमाउँछ नै। तर इज्जत कमाउन समय लाग्छ। तपाई सयवटा राम्रो गर्नुस् एउटा नराम्रो काम गर्नुस्। समाजले नराम्रो काम याद राख्छ। त्यसैले संवेदनशिल हुनुपर्छ।

तपाईंलाई व्यवसायिक रुपमा अगाडी बढ्ने उत्प्रेरणा र सिकाई मिल्ने स्रोत के हो ?
म यहीँ ठाउँमा हुर्के यहीँ बढे। सबै कुरा देख्दै आएको छु। मलाई बुवाले बच्चैदेखि ६/७ कक्षामा पढ्दै गर्दादेखि आफुसँग पसलमा राखेर सिकाउनुभयो। 

मेरो बुवाको सोच नै यहीँ थियो त व्यापार सिक तैले जागिर गरेर केही हुँदैन। उद्यम गरेर खानुपर्छ भन्ने थियो। जोड त केही कुरामा गर्नुभएन तर व्यवसायको फाइदाको विषयमा सिकाई रहनुभयो। बुवाको आफ्नो प्रगति हुँदै गर्दा फेरि आफन्त घट्दै गएको पाए। व्यापारमा कहिले एक रुपैयाँको पनि समस्या हुन्छ भने कहिले लाखौं रुपैयाँ पनि हुन्छ। तर समाजको मान्छेले भने आफुलाई परेको बेला सहयोग गर्यो भने जय जयकार गर्ने। यदि अहिले सक्ने स्थिति छैन भन्यो भने उसको स्थिति बुझ्ने प्रयास भन्दा पनि कुरा काट्नेतिर लाग्ने हुँदोरहेछ। मेरो प्रेरणाको स्रोतको कुरा गर्दा मेरो बुवा नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ।

 

कमेन्ट लोड गर्नुस