सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चोरी बढ्यो, महिलामा त्रास

प्रदेश राजधानी धनगढी
प्रदेश राजधानी धनगढी
२०७८ असोज ७, ०७:०८ कमल सावद

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ कोवा टोलमा गत शुक्रबार राति तीन घरमा चोरी भयो। अन्य थप पाँच घरमा चोरीको प्रयास गरियो। स्थानीय लालबहादुर साउँद, मिना सञ्ज्याल र इश्वरी विकको घरबाट सुनका गहना चोरी भएको थियो। 

महिलाहरुले नाक, कानमा लगाएका गहना पनि चोरी भएको स्थानीय इन्द्रा साउँदले बताइन्। उनले भनिन्, ‘रातिको समयमा चोर आउने त्रास सबैमा रहेको छ। चोरी भएपछि प्रहरी दिनको २ पटक आउँदै थियो। तीन दिन भयो प्रहरीलाई पनि देखेको छैन।’

घोडाघोडी क्षेत्रमा प्रत्येक वर्ष चाडपर्वमा रातिको समयमा चोरी हुँदै आएको भएपनि संग्लन पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ। प्रहरीले चोरीमा संग्लनलाई पक्राउ गर्ने प्रयाससमेत नगरेको स्थानीयको गुनासो छ। 

चोरीमा संग्लनलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। उनले कोवा क्षेत्र तथा बजारका सुन पसलहरुमा समेत चोरी भएकाले सुन बिक्रीका लागि कोही आए जानकारी दिन भनेको बताए। ‘हामी चोर खोजिरहेका छौँ। बजारमा पनि भनेका छौँ। तर भेटिएका छैनन्,’ उनले भने।

कैलालीका अन्य क्षेत्रमा पनि चाडपर्व नजिकिएसँगै चोरीका घटना बढेका छन्। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिकाको बौनिया क्षेत्र र टीकापुर नगरपालिका लगायतका क्षेत्रमा समेत रातिको समयमा चोरी बढेको हो। 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले साउनपछि चोरीका मुद्दा बढेको बताए। उनले चाडपर्वमा चोरीका घटना बढ्ने भएकाले सुरक्षा सर्तकता बढाइएको बताए। 

जिल्लाका सबै स्थानमा रातिको समयमा दैनिक साना टुला चोरी हुँदै आएका छन्। यता चाडपर्वै लक्षित सुरक्षा योजनाको तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘एक÷दुई दिनमा सुरक्षा योजना सार्वजनिक गर्छौ,’ उनले भने।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस