सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको अर्थतन्त्रमा सामान्य वृद्धि हुने एडीबीको प्रक्षेपण

२०७८ असोज ६, ०६:४४ रासस

काठमाण्डौँः एशियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो। बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो। 

पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने, निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो। पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यसअघि त्यो ३ दशमलव ६ प्रतिशतमा सीमित रहने आँकलन गरिएको थियो।

जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ। विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस