‘व्यवसाय देशको मेरुदण्ड हो, यो कुरा नयाँ पुस्तालाई सिकाउन जरुरी छ’
धनगढी: धनगढीका उद्यमी लोकराज भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रमको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
अग्रज पुस्ताले सुरुवात गरेको व्यावसायिक यात्रालाई नै अगाडि बढाउने सोच कसरी निर्माण हुन पुग्यो ?
अहिलेको समयमा म लगायतका युवाहरु विभिन्न क्षेत्रमा अग्रसर भएर लागेका छन्। कतिपय युवाहरू सफल र असफल भएर विदेश पनि गएका छन्। मेरो सन्दर्भमा कुरा गर्ने हो भने पनि म विदेश जानको लागि तयार भइसकेको मान्छे हुँ। अहिले त विदेश जानु भनेको त ट्रेन्ड जस्तै भएको छ। विदेश गयो फोटो हाल्यो, सामाजिक सञ्जालबाट रमाइला रमाइला क्षणहरु मात्रै हालिरहेका हुन्छन्। यो देखेर मलाई पनि जाऊ–जाऊ लागेको थियो। त्यो उमेरमा हामी निर्णय गर्नसक्ने क्षमताको हुँदैनौँ। परिवारका अग्रजहरुको अभिभावकत्व त्यो बेला धेरै चाहिन्छ। यदि परिवारले तेरो जीवन हो। जे गर्छस् गर। जा भन्यो भने नेपालबाट हर कोही युवा विदेश जान्छ। किनकी उमेर अपरिपक्व हुन्छ। सही निर्णय लिन सकिन्छ भन्ने हुँदैन।
तर अभिभावकले नेपालमा नै गर्नुपर्छ। यो तरिकाले गर्नुपर्छ भनेर बाटो देखाउने हो भने मान्छे नेपालमा बस्छ। बिस्तारै परिपक्व हुँदै गएपछि देशको माया लाग्न थाल्छ। काम प्रतिको माया बढ्दै जान्छ। यसरी सबैकुरा बिस्तारै अनुभव हुँदै जान्छन्। मेरो पनि ठ्याक्कै यहि भएको हो। मलाई सुरुमा विदेश जाने एकदम ठुलो धोको थियो। पछि परिवारले मलाई व्यावसायमा प्रवेश गरायो। बिस्तारै अनुभव हुँदै गयो। सुरुमा अरु चिजको मतलब नराख्ने, आफ्नो काम गर्यो र घुम्न गइन्थ्यो। पछि कामको चाप बढ्दै जाने र काममा चासो बढ्दै जाने। जस्तो कुनै फ्यक्ट्रीबाट मैले सामान माग गरेको छु भने उहाँहरुले सिधै मलाई फोन गर्ने। यसरी जिम्मेवारीमा भएपछि काममा डुबेको थाहा नै नहुने। मलाई पनि यस्तै हुन थालेको बिन्दुबाट म व्यावसायमा छिरेको हो।
एउटा युवामा विदेश जाने सोच किन आउछ ?
विदेश जानु पछाडिका दुईवटा कारण छन् जस्तो लाग्छ। पहिलो वैज्ञानिक कारण के हो भने प्रविणता तह पास गरि सकिरहँदाको उमेर परिपक्व हुँदैन। परिपक्वता नभएर, साथीभाइहरुको लहलहैमा लागेर र विदेशको जस्तो वातावरण नेपालमा नपाएर युवा विदेश जान्छ। दोस्रो कुरा के हो भने राजनीति स्थिर छैन। मानौं एक जना कसैले १५ लाखमा व्यापार सुरु गर्यो।
व्यापार सुरु गर्दैगर्दा एक महिना बन्द भइदियो अथवा पेट्रोलको अभाव भइदियो भने त्यो विचरा आफ्नो लगानी पनि उठाउन सक्दैन। यसरी बाहिरबाट ऋण लिएको भए त ब्याज तिर्नु पनि हुन्छ। फेरि समाजले पनि पहिलो उद्यम गरेको भएर उसैलाई बढो भएको थियो व्यापार ढुबायो भन्छ। यसरी एउटा मान्छेले के मानसिकता निर्माण गर्छ भने बरु समाजबाट टाढा गएर प्रगति गर्छु भन्छ। र, विदेश जान्छ। अधिकांश यस्तै कारणले जान्छन् भने केहीको परिवारिक कारण पनि होला। यहाँ जति बल गरेपनि सफल नभएर पनि जान्छन्। कतिले समाजको सहयोग नपाएर पनि जान्छन्। हाम्रो समाज कस्तो छ भने सहयोग नै गर्दैन।
केही गल्ती गर्यो भने परिवारको भन्दा पनि बाहिरको मान्छेहरुलाई बढी तनाव हुन्छ। यसरी युवालाई दुरुत्साहित गरिएको छ। फेरि युवाले पनि बुझ्नु पर्ने के हो भने एउटा भित्री आवाज हुन्छ। उसले के भन्न खोजिरहेको छ बुझ्नुपर्छ र समाजलाई प्रष्ट पार्नुपर्छ। यो युवाको कर्तव्य हो।
समाजको कर्तव्य के हो भने कुनै युवाले गल्ती गरेको छ भने त्यसलाई सकारात्मक रुपमा सुधार गर्न लगाउने हो। दोस्रोपटक नगर्न भन्ने हाे। यत्ति भयो भने त युवामा एक किसिमको सकारात्मक उर्जा आउँछ। सकारात्मक सोच निर्माण हुन्छ। मेरो सवालमा चाहिँ म जब स्नातक पढ्दै थिए त्यतिखेर हामी ४० जनामध्ये लगभग ३४ जना विदेश जानुभयो। यसरी म त्यसबाट केही प्रभावित भए। तर समग्रताको कुरा मैले माथि नै समेटिसके।
युवामा अभिभावकबाट कस्तो किसिमको अभिभावकत्वको अपेक्षा हुँदोरहेछ ?
कतिपयको अभिभावकले आफ्नो छोराछोरीलाई तिम्रो जीवन हो, जे गर्छौ गर जहाँ जान्छौ जाऊ भन्ने किसिमले सिकाउन खोज्नुहुन्छ। मलाई लाग्छ यो नै गल्ती हो। मेरो बिचारले ३० वर्षभन्दा माथिलाई तिम्रो जिवन हो तिम्रो तरिकाले जिउ भन्न मिल्छ। यो स्वभाविक हो। उसले विभिन्न अनुभव गरिसकेको हुन्छ। परिपक्वता आइसकेको हुन्छ भने समाज र राष्ट्रको परिवेश बुझिसकेको हुन्छ।
तर ३० वर्षमुनीको उमेर अपरिपक्व हुन्छ। साथीहरूको संगत हुन्छ। साथीहरू पनि अपरिपक्व नै हुन्छन्। सिकिने पनि बढी साथीहरू बाट नै हो। त्यसैले यो उमेर समूहलाई भने ध्यानमा राख्नुपर्छ लाग्छ। फेरि आजको हामी युवा नै भोलिको बुढो हो। विशेषत आमाबुबालाई जसले यो धर्तीमा हामीलाई पुर्याउनुभयो उहाँलाई सम्मान गर्नुपर्छ। मनको सम्मानको कुरा गरिरहेको छैन व्यवहारिक सम्मानको कुरा गर्दैछु। आमाबुवाले आफ्नो सन्तान बुढेसकालमा आफूसँगै बसोस भन्ने चाहन्छन्। त्यस्तै युवाको भावना पनि आमाबुवाले बुझ्नुपर्छ। छोराछोरी पनि तपाईंहरुले जस्तो जीवन बाच्नु यो त्यो भन्दा विशिष्ट जीवन दिन्छु भन्ने हुन्छ।
आमाबुवा यहीँ समाजमा हुर्केका हुँदा विदेशमा बस्न नरुचाउने। फेरि युवाहरूको सबै साथीहरू विदेश गएको। यहाँको स्थिति मन नपर्ने। अनि यहाँ बस्न नसकिने स्थिति हो। यसैले हरेक युवाहरूलाई म के भन्न चाहन्छु भने विदेश जाने हो १ महिनाको लागि १ वर्षका लागि बढीमा ५ वर्षको लागि तर फर्किनु भने पर्छ। त्यहाँबाट जम्मा गरेर ल्याएको पैसा मात्रै भनिरहेको छैन। अनुभवले सानो भए पनि व्यावसाय सुरु गर्नु नै पर्छ। किनकि व्यावसाय देशको मेरुदण्ड हो।
तपाईंको औपचारिक शिक्षाको स्थिति के हो ?
मैले स्कुल स्तरको पढाई धनगढीमा नै गरे। उच्च शिक्षा प्रविणता तह, स्नातक र स्नातकोत्तरको हासिल भने काठमाडौँबाट गरेको थिए। प्रत्यक्ष रुपमा व्यावसायिक क्रियाकलापमा लागेको झन्डै ६ वर्ष जति भयो। व्यवसाय गर्दै आउने क्रममा अघि तपाईं हामीले कुरा गरेको अग्रज युवापुस्ता बीचको सम्बन्धमा थोरै थप्न चाहे। मैले बुझेको के हो भने अग्रज भनेका अनुभवका खानी हुन युवाले चाहेर पनि त्यो कुरा युवा अवस्थामा प्राप्त गर्न नसक्ला। प्राप्त गर्दा फेरि बुढो भइसकिन्छ। फेरि युवामा उर्जा हुन्छ जुन अग्रजमा ह्रास भइसकेको हुन्छ। त्यसैले युवाहरूले अग्रजहरुको सरसल्लाह लिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।