बिडीसिए क्रिकेट : “सुपर सिक्स” समीकरण पुरा
बैतडीमा जारी बिडीसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा अन्तर्गत “सुपर सिक्स” पुग्ने सबै टोलीको टुंगो लागेको छ। बिहीवार दशरथचन्द एकेडेमी र नवजागृती क्रिकेट क्लव अन्तिम ६ मा पुगेसंगै सुपर सिक्सको समीकरण पुरा भएको हो। यसअघि निंगलाशैनी क्रिकेट क्लव ९एनसिसि०, यौंङ्गस्टार मेलौली, कालाशैनी क्रिकेट क्लव र पञ्चकोटी क्रिकेट क्लव सुपर सिक्समा पुगिसकेका छन्।
बुड्डा बाजे खेल मैदानमा भएको लिग चरणको अन्तिम खेलमा एनआरआईसी बठ्ठालाई ६८ रनले पराजित गर्दै एकेडेमी अन्तिम छ मा प्रवेश गरेको हो। पहिला ब्याटिंग गरेको एकेडमीले १२२ रन बनायो। १२३ रनको लक्ष्य पन्छाएको बठ्ठा ५४ रनमा समेटियो । बठ्ठाको पारी ध्वस्त पार्ने क्रममा एकेडमीका लागी ५ विकेट हात पारेका जगदिश चन्द म्यान अफ दम्याच घोषित भए।
यता निंगलाशैनी खेलमैदानमा भएको पहिलो खेलमा अस्मिकेदारलाई ८ विकेटले स्तब्ध पार्दै गिरेगडा विजयी भएको छ। अस्मिकेदारले दिएको ८८ रनको लक्ष्य गिरेगडाले २ विकेटको क्षतीमा पुरा गर्यो। ४ विकेट हात पारेका अस्मिकेदारका बलदेव बडु म्यान अफ द म्याच भएका छन्। अस्मिकेदार र गिरेगडा यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेका थिए।
यस्तै दोस्रो खेलमा पाटन भ्यालीलाई ६ विकेटले स्तब्ध पार्दै महामाया विजयी भएको छ। पाटन भ्यालीले दिएको १०५ रनको लक्ष्य महामायाले १५ ओभर ४ बलमा ४ विकेटको क्षतीमा पुरा गर्यो।
महामायाका लागी व्यक्तिगत नटआउट ३३ रन तथा २ विकेट हात पारेका यज्ञराज भट्ट म्यान अफ दम्याच घोषित भए। महामायाले जित हात पारे पनि सुपर सिक्समा पुग्न भने सकेन। महामायाले १३ ओभरमा खेल जितेको भए रनरेटका आधारमा सुपर सिक्समा प्रवेश गर्थ्यो। समूह एफमा रहेका पाटन भ्याली , महामाया र बसन्तपुर तिनै टोलीले एक एक खेल जितेकोमा बसन्तपुर रनरेटका आधारमा सुपर सिक्समा पुगेको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए।
यसैबिच प्रतियोगिता अन्तर्गत सुपर सिक्सको पहिलो खेल सम्पन्न भएको छ। बुड्डाबाजे खेल मैदानमा भएको पहिलो सुपरसिक्सको खेलमा पञ्चकोटीलाई ७ विकेटले पाखा लगाउदै विजयी भएको छ। पञ्चकोटीले दिएको ९६ रनको लक्ष्य कालाशैनीले ३ विकेटको क्षतीमा पुरा गर्यो। व्यक्तिगत १९ रन तथा २ विकेट हात पारेका कालाशैनीका सन्तोस चन्द म्यान अफ दम्याच भए।
प्रतियोगिता अन्र्तगत शुक्रवार सुपर सिक्सका ३ खेल हुने भएका छन्। निंगलाशैनी खेल मैदानमा हुने पहिलो खेलमा एनसिसि र यौंङ्गस्टार प्रतिस्प्रर्धा गर्दा दोस्रो खेलमा बसन्तपुर र यौंङ्गस्टारबिच भिडन्त हुने भएको छ।
उता बुड्डाबाजे क्रिकेट मैदानमा हुने एकमात्र खेलमा एकेडेमी र कालाशैनी आमनेसामने हुने भएका छन्।
१९ टोली सहभागी प्रतियोगितालाई ६ समूहमा विभाजन गराईएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको छ। बिडीसिए कपवाट नै आठौं राष्ट्रिय खेलकुदका लागी जिल्लावाट क्रिकेट टोलीको छनौट हुने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो। मङ्सिर १५ गतेदखि सुरु भएको बिडीसिए कपको यो १८ औं संस्करण मङ्सिर २४ गते सम्पन्न हुनेछ।