सुदूरपश्चिमका बजारमा भारतबाट आयातीत विषाक्त माछाको कारोबार, प्रहरीको मिलेमतो !
धनगढी: सुदूरपश्चिमका बजारमा भारतबाट आयातीत विषाक्त माछाको खुलेआम कारोबार हुन थालेपछि स्थानीय किसान मारमा परेका छन्। मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएका माछाको खुलेआम कारोबार हुन थालेपछि स्थानीय माछापालक किसान मारमा परेका हुन्।
कैलाली र कञ्चनपुरका मुख्य नाका तथा अबैध बाटो प्रयोग गरेर दैनिक रुपमा भारतीय माछा बजारमा आउँदा स्थानीय उत्पादनले बजार नपाएको गुनासो किसानको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रदेशको वार्षिक मागभन्दा बढी माछा उत्पादन भएपनि अवैध तथा अखाद्य भारतीय माछाको गैरकानुनी आयात नरोकिँदा आफूहरु मारमा परेको कैलालीका माछापालक किसान डेजी पाण्डले बताए।
‘हामी माछापालक किसानलाई सबैभन्दा समस्या बजारकै छ। हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्नुपरेको छ। जु्न हाम्रा लागि दुर्भाग्य हो, ’ उनले भने, ‘हामीसँग भुरा उत्पादन पनि छैन। दाना उत्पादन पनि छैन। लागत बढी छ तर भारतको कम लागतका उत्पादन भएको माछासँग प्रतिस्पर्धा गर्नुपरेको छ।’
कैलाली र कञ्चनपुरमा प्रशस्त माछा उत्पादन हुन्छ तर बजारमा भने जताततै भारतीय माछा बिक्री भइरेको छ। सस्तोमा फर्मालिन हालेको भारतीय माछा पाउँदा स्थानीय व्यापारीले बढी नाफा पाउने लोभमा स्थानीय उत्पादन भन्दा अवैध माछा बिक्री गर्ने गरेको कञ्चनपुरका माछापालक किसान सोवरन राना बताए।
‘मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग गरिएका माछा ल्याएर सुदूरपश्चिमका बजारमा खुलेआम व्यापार भइरहेको छ। त्यो माछा सस्तो छ,’ उनले भने, ‘सीमा क्षेत्रमा खटिएका प्रहरीको मिलेमतोमा अवैध माछा तस्करी हुने गरेको हो।’
सुदूरपश्चिम कुखुराजन्य तथा माछा उत्पादनमा आत्मनिर्भर रहेको व्यवसायीले दाबी गरेका छन्। तर भारतीय व्यवसायीले कम लागतमै माछा उत्पादन गर्ने र सो माछा आयात भएपछि प्रतिस्पर्धा गर्न मुस्किल हुन थालेको छ। अर्कोतर्फ विषाक्त माछाको कारोबारले स्वास्थ्यमा पनि गम्भीर असर पुगाउने देखिएको धनगढीका माछापालक किसान रविनकान्त पन्तले बताए। ‘कैलाली र कञ्चनपुरमा ७ ठाउँबाट भारतीय माछा तस्करी हुने गरेको बताइन्छ,’ उनले भने, ‘तस्करहरुले खुलेआम माछा ल्याउनुमा सुरक्षा निकायको मिलेमतो या लापरबाही रहेको छ।’
सीमा क्षेत्रबाट भारतीय माछा भित्रिनुमा भारतीय माछा व्यवसायी तथा तस्करसँग सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतो रहेको आरोप लागेको छ। तर भारतीय अवैध माछाको आयात तथा बिक्रीको कारण स्थानीय किसानले लागतसमेत उठाउन नसक्ने खतरा रहेकोेले अवध माछा आयात हुन नसक्ने वातावरण तयार गर्नुपर्ने प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर हेमराज अवस्थीको भनाई छ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरी रहेकोले तस्करी हुनुमा सशस्त्र प्रहरीको कमजोरी रहेको किसानहरुले आरोप लगाएका छन्। तर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्ष दिपेन्द्र कुँवरले माछा तथा कुखुरा ओसारपसार नियन्त्रण गर्ने प्रयास जारी राखेको बताए। ‘माछा तस्करीमा प्रहरीको मिलेमतो छ भन्नु गलत कुरा हो,’ उनले भने, ‘हामीले अवैध माछा समातेर नष्ट गर्ने गरेका छौँ। थप नियन्त्रण गर्न तस्करी भइरहेको सूचना दिन सबै माछापालक किसानलाई अनुरोध छ।’
सुदूरपश्चिममा वार्षिक २२ हजार मेट्रिक टन माछाको माग रहेको व्यवसायीले बताएका छन्। उक्त मागअनुसार कैलाली र कञ्चनपुरमा माछा उत्पादन भइरहेको दाबी माछापालक किसानको छ।
यसैबीच भारतबाट आयातीत माछा बजारभरी रहेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार मात्रै बजार अनुगमन गरेको छ। टोलीले धनगढी र अत्तरिया बजारमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।