धनगढीकी मोडेल मनिषा भन्छिन्, ‘कलाकारिता क्षेत्रमा लागेकी केटीलाई सहि नजरले हेरिँदैन’
धनगढी : कोरोना महामारीका कारण थला परेबाट चलचित्र उद्योग भर्खर उठ्ने प्रयास गर्दै छ। सानाठूला स्थापित भइसकेका, स्थापित हुन संघर्ष गरिरहेका हरेक कलाकार अब बिस्तारै आफ्नो काममा फर्किन थालेका छन्। सहायक काम खोजेर अरु चिजमा नै भविष्य बनाउने सोचमा पुगेका कलाकार पनि अब फेरि चलचित्र उद्योगमा अझै काम गर्नुपर्ने सोचाइ निर्माण गरिरहेका छन्। उनीहरु कोरोनापछिको सक्रिय हुने बजारमा आफ्नो प्रभुत्व देखाउन हर सम्भाव प्रयास गरिरहेका छन्।
कलाकारिताकै विषयमा कुरा गरिरहँदा भदौ ३० गतेको प्रभात विमर्शमा फरक शैलीका गीतमा अभिनय गरेकी कलाकार तथा अभिनेत्री धनगढीकी मनिषा रावललाई बोलाएर विमर्श गरेका छौं।
अभिनयको क्षेत्रमा तपाईं कसरी प्रवेश गर्न पुग्नुभयो ?
म स्नातक तहको पहिलो वर्षमा अध्यनरत थिए। डान्स सिक्न डान्स कलासमा जाने गर्थें। एकजना डाइरेक्टर सरले त्यहाँ देखेछन्। उहाँले म मा केही देखेर नै होला एक दिन कलेजबाट घर जादै गर्दा बाटोमा रोकेर भन्नू भयो। ‘भिडियो खेल्छौ ?’ त्यहाँ भिडियो छायांकन भइरहेको थियो। सौभाग्यबस् मैले पहिलो भिडियो खेलेको यहीँ घटनाबाट हो।
अहिले यो क्षेत्रमा लगभग ३ वर्ष जति भइसकेको छ। सुरुमा भिडियो खेल्दाको अनुभव पनि फरकै किसिमको छ। मैले पहिलो भिडियोको रुपमा थारु गीतमा अभिनय गरे। त्योभन्दा पहिला म कहिल्यै पनि क्यामेराको अगाडि गएकी थिइन्। कता क्यामेराको फोकोस हुन्छ, के गर्नुपर्छ। थाहा थिएन। एउटा मेरो क्यारेक्टर थियो मैले छड्के पारेर घाटी मोड्नुपर्ने तर क्यामेरा हेर्नुपर्ने कसरी कता हेर्ने थाहा थिएन। पहिलो अनुभव भएर होला ४÷५ चोटी कट गर्नुपरेको थियो। उहाँले ‘तिमी घरमै छु सोचेर अभिनय गर न’ भन्नु भएपछि म प्रयास गर्दै थिए। त्यतिकैमा उहाँले भिडियो लिइसक्नुभएको रहेछ। यहीँ हो मेरो पहिलो अनुभव र प्रवेश गर्दाको अनुभव।
समाजले कलाकारितालाई हेर्ने दृष्टिकोण कस्तो छ ?
समाजको रंगीन दुनिया सुन्ने बित्तिकै सोचाइ नै अलग हुन्छ। मेरै कुरा गर्दा पनि सुटिङको दौरान थोरै कुनै दिन अबेर घर पुगियो भने त्यहाँ प्रश्न उठिहाल्ने के। के गर्दैछ होली। सुटिङमै जान्छे होली र आदि आदि। यो क्षेत्रमा लागेपछि परिवारले जति सहयोग गरेपनि समाजले केटीलाई यो क्षेत्रमा सहि नजरले हेर्नै नसक्ने समाजको मनस्थिति छ। बरु परिवार नै समाजको लागि नराम्रो देखिने सम्मको स्थितीमा पुग्छ। म बस्ने टोलमा अधिकांश धेरै जस्तो अफिस जाने मान्छेहरु बस्ने हुनुहुन्छ। उहाँहरुलाई छुट्टै किसिमको सम्मान नछ।
तर कलाकार काममा गए पनि घुम्न गएको भनेर बुझ्ने मानसिकता समाजमा छ। म पछिल्लो समय एउटा अफिसकै जागिर गर्छु। अहिले मेरो समाजले मलाई गर्ने सम्मान नै अलग छ। हिजो पनि त म काम नै गरिरहेकी थिए। राम्रै काम गरिरहेको थिए तर पनि यस्तो सम्मान थिएन। सबैलाई एउटै दृष्टिकोणले हेर्नु त हुँदैन तर वास्तविकता यो पनि हो।
तपाईंले भविष्य कलाकारिता क्षेत्रमा नै बनाउने सोच्नु भएको हो ?
आट गरेपछि सबै कुरा गर्न सकिन्छ। सफल भइन्छ। क्षेत्र एकदमै राम्रो छ। धेरै गर्न सक्नेहरुले गरेका पनि छन्। कतिपयको भविष्य बिग्रेको पनि छ। बिग्रेको छैन भन्दिनँ। मैले १०÷१५ वटा भिडियोमा अभिनय गरिसकेकी छु। अझै पनि समयलाई व्यावस्थापन गरेर काम गर्छु।
नयाँ के कोशेली छ तपाईंका शुभचिन्तकहरुका लागि ?
सबैले धर्यताका साथ पर्खिनु होला। कोरोनाको कारण चलचित्र उद्योग नै पूर्णरुपमा चलायमान हुन सकेको छैन। राना, चौधरी, देउडा र आधुनिक लगायतका विभिन्न विधाका जुनसुकै गीतमा पनि अभिनय गरेको देख्न सक्नुहुन्छ। मेरो अबको कोसेली भने आधुनिक गीतमा अभिनय गरेर ल्याउने भन्ने छ। हेरौं कतिको सफल भइन्छ।
(पुरै अन्तरर्वार्ता दिनेश खबरको युट्युब च्यानल हेर्नुहोला।)