जलविद्युत सर्वेक्षण अनुमति
तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ। उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना निर्माणका लागि विभागमा निवेदन गरेको थियो। कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरिएको छ। विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए। उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ। सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए। जिल्लाकै सबैभन्दा ठूलो विद्युत आयोजना मानिएको उक्त आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको बताइएको छ। रासस