‘गहुँको एउटा जात विकास गर्न १२ देखि १४ वर्ष लाग्छ’
धनगढी : सुदूरपश्चिम कृषि अनुसन्धान केन्द्र दिपायल, डोटीका निर्देशक मथुरा यादवसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
अनुसन्धानको क्षेत्रतिर कसरी प्रवेश गर्नुभयो ?
मेरो घर रोहणी दुई रुपन्देही हो। कृषि अनुसन्धानको क्षेत्रमा २०५६ सालदेखि सेवा गरिरहेको छु। सर्वप्रथम म क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा नेपालगन्जमा कार्यरत भए। त्यहाँ १३ महिनाको बसाईपछि ५७ सालदेखि राष्ट्रिय धानबाली कार्यक्रमका लागि धनुषा पुगे। २०५७ देखि २०६४ सम्म त्यहाँ सेवा गरिसकेपछि राष्ट्रिय गहुँबाली कार्यक्रम भैरवहामा २०७८ जेठ २३ सम्ममा सेवा गरे र जेठ महिनाकै २४ गते म सुदूरपश्चिम कृषि अनुसन्धान केन्द्र दिपायल डोटीमा निर्देशक भएर गए।
सुदूरपश्चिममा तपाईं आफुलाई महसुस भएका चुनौती के हुन् ?
सुदूरपश्चिम मेरो लागि नयाँ ठाउँ छ। यहाँ खास गरेर एउटा मात्रै अनुसन्धान केन्द्र छ। एउटै अनुसन्धान केन्द्रले ९ वटै जिल्लालाई हेर्नुपर्ने ठुलो जिम्मेवारी छ। यो पनि एक किसिमको चुनौती लाग्छ। तराई क्षेत्रमा धान र गहुँलाई मुख्य बालीको रुपमा लगाइने गरिन्छ। त्यसको लागि बिउ पारीबाट आयात गरिने गरिन्छ। यसलाई प्रतिस्थापन गर्ने र ती जात जो बाहिरबाट आयात हुन्छन् तीसँग प्रतिस्पर्धा कसरी गर्ने भन्ने अर्को चुनौती लागेको छ। किसानहरुले धानलाई लिएर ठुलो आकांक्षा राखेका हुन्छन्, राम्रो उत्पादन पनि चाहियो। मसिनो पनि चाहियो। छिटो फल्ने पनि चाहियो। पराल पनि चाहियो। त्यसमा छनोट धेरै नै छ।
किसानहरुको माग कसरी सम्बोधन गर्ने, यो हामी अनुसन्धानकर्ताहरुमा ठुलो चुनौती छ। पर्यावरण परिवर्तन पनि अर्को चुनौतीको रुपमा रहेको छ। अनुसन्धान गरेर पत्ता लगाएका धेरै प्रजातिका बिउहरु पनि मौसम प्रतिकुलताले समस्यामा पर्छन्। कुनै सिजन पानी कम परेर, समयमा पानी नपरेर उत्पादन न दिइरहेको र कुन सिजन पानी बढी परेर डुवान भएर उत्पादन बिग्रेको हुन्छ, त्यसलाई समाधानको लागि फरकफरक बिउ विकास गरिरहेका छौ। तर पनि एउटा ठुलो चुनौतीको रुपमा यसलाई लिन सकिन्छ।
कृषि अनुसन्धान केन्द्रले यत्रो ठुलो कार्यक्षेत्रको जिम्मेवारीलाई कसरी पूरा गर्छ ?
सुदूरपश्चिम अनुसन्धान केन्द्रको म्यान्डेट के हो भने यहाँको कृषिसँग प्रविधि विकास गर्ने र त्यसलाई प्रबर्द्धन गर्ने। योसँगै अर्को म्यान्डेट के पनि हो भने सुदूरपश्चिममा भएका रैथाने प्रजातिहरुको संरक्षण गर्ने र जैविक विविधताको उपयोग गर्ने। थप पत्ता लागेको प्रविधि त्यसका स्टेकहोल्डर किसान, सहकारी र अन्य कृषिमा काम गर्ने संस्थाहरुलाई हस्तान्तरण गर्ने।
हामी अनुसन्धान गर्छौ र त्यो कृषकसँग पुगेन भने त्यसको अर्थ रहदैन। हामीले जतिसुकै राम्रो गर्ने प्रयास गरे पनि, राम्रो गरे भने पनि त्यो किसानसँग पुगेन भने त्यसको अर्थ रहदैन। कुनै रैथाने जात छिटो पाक्ने, रोग सहने क्षमता भएका र उत्पादन पनि राम्रो दिने किसिमका हुन्छन् भने तिनलाई नयाँ विकास गरिने जातमा राख्ने भन्नेमा पनि हामीले काम गर्छौ। जति पनि यहाँको रैथाने जात छन् तिनलाई केन्द्रमा रहेको जिन बैंकमा जम्मा गर्छौ। भविष्यमा ती जातको उपयोग गर्छौं। अहिले पनि उपयोग गरिरहेका छौ।
रैथाने जातहरुले दिने उत्पादन कस्तो रहेको पाउनुभएको छ ? र, बिउ विकास गर्दा कस्तो प्रक्रियाले काम हुन्छ ?
जस्तो पहाडी ठाउँमा मुरली गहुँ लगाइन्छ। कारण, तुण नहुने हुनाले त्यसलाई छुट्न सजिलो हुन्छ र खान मिठो हुन्छ। किसानलाई विश्वस्त पार्न गार्हो हुन्छ। किसानले आफ्नो आँखाले नदेख्दा सम्म पत्याउने कुरा हुन सक्दैन। त्यसैले उनीहरुलाई विश्वास दिलाउन कृषि अनुसन्धान निर्देशनालय डोटीले चाहिँ विभिन्न ठाउँमा कृषि अनुसन्धान स्थल राखेको हुन्छ। त्यहीँ विकास भएका बिउहरुलाई लगाउने र किसानलाई हेर्न लगाउने गरिन्छ। उहाँहरुलाई कस्तो लाग्यो।
पहिला खेती गरिरहेको भन्दा केही राम्रो ठान्नु भयो भने अनि त्यहीँ अनुसार हामी अगाडि बढाउछौ। त्यो जात बजारमा ल्याउन सिफारिस गर्छौं। गहुँको कुरा गर्दा पनि एउटा जात विकास गर्न कम्तीमा पनि १२ देखि १४ वर्ष लाग्छ। मानौ १५ जात जति हामीले विकास गर्यौ भने किसानको खेतमा परीक्षण गरिसकेपछि ४/५ जातहरु मात्रै अगाडि बढाइन्छ र किसानले मन पराए अनुसार १/२ जातहरु मात्रै सिफारिस हुन्छन्।
(पूरा अन्तरवार्ता दिनेश खबरको युट्युब च्यानलमा हेर्नूहोला।)