सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सिमेन्ट उद्योग स्थापनाका लागि चुनढुंगा खानीको अध्ययन

२०७८ भदौ २७, ०६:५५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको पूर्वी सीमा क्षेत्र टीकापुर भएर बग्ने कर्णाली नदीमा वर्षौदेखि सुन खोज्दै जीविकोपार्जन गर्छन् सोनाह जाति। नदी किनारमा रहेको बालुवा चालेर सुन निकाल्ने सोनाह जातिको जीविका त्यहीँबाट चलेको छ। यसबाट पनि के प्रष्ट हुन्छ भने कर्णाली नदीको बालुवामा सुन छ। 

कर्णाली नदीको तिरैतिर र दक्षिण समथर भूमि, चुरे क्षेत्र, डोटीको तेले लेक, डडेल्धुराको भित्री मधेस क्षेत्र (जोगबुढा), क्षेत्र ग्यास र पेट्रोलियम पदार्थको सम्भावना भएका स्थान हुन्। बझाङ, दार्चुला र बैतडीको पुर्चौडी क्षेत्रमा अथाह फलाम खानी रहेको विज्ञहरु बताउँछन्।  तर प्रदेश सरकारले खनिज पदार्थ रहेको स्थल पहिचान गरेर उत्खनन गर्न पहल गर्नुपर्नेमा अहिलेसम्म प्रयाप्त काम गर्न सकेको छैन। 

भूगर्भ शास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर कविराज पौडेलले सुदूरपश्चिम प्रदेश खानी अध्ययन अन्वेषणको हिसाबले सबभन्दा पछाडि रहेको बताए। ‘तर सुदूरपश्चिम प्रदेशभित्र रहेका खनिजजन्य पदार्थका अध्ययन, अन्वेषण नै न्यून रहेकाले के–कति सम्भावना छ भनेर बिना आधार तथ्यंगत रुपमा भन्न सकिदैँन’ उनले भने।  सुदूरपश्चिममा अध्ययन अन्वेषण कम भएपनि फलाम, सिमेन्ट, फस्फोरस, पेट्रोल, ग्रेनाइट लगायत खानीजन्य पदार्थको सम्भावना उच्च रहेकाले प्रदेश तथा स्थानीय तहले विज्ञहरुलाई आमन्त्रण गरेर अध्ययन गर्न सके प्रदेशको आर्थिक उन्नतीमा ठुलै योगदान पुग्ने भूगर्भशास्त्री पौडेलले बताए।

सिमेन्टका लागि चुनढुंगा खानीको अध्ययन
गत आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख रुपैयाँ सिमेन्ट उद्योगको सम्भावना अध्ययनका लागि भनेर चुनढुंगाको खानी अन्वेषणका लागि बजेट विनियोजन गरेको थियो। २०७७ फागुनदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुको अध्ययन गर्दा बैतडी र दार्चुला चुनढुंगा खानीका लागि उपयुक्त ठहर गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ। 

मन्त्रालयले ठुलै लगानी गरेर प्रारम्भिक अध्ययन गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा एवं औद्योगिक तथा पर्यटन प्रबद्र्धन महाशाखा प्रमुख रामविचारी ठाकुरले बताए। ‘४० लाख बजेटमा नेपालका प्रख्यात विज्ञहरुले दार्चुला, बैतडी र अछाममा सिमेन्टका लागि प्रारम्भिक अध्ययन गरेर मन्त्रालयमा अध्ययन प्रतिवेदन पेश गरिसकेका छन्’ उनले भने, ‘विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेर बाँकी प्रक्रियालाई यसैगरी अघि बढाउने हो भने छिट्टै नै प्रदेशभित्र सिमेन्ट कारखाना स्थापना गर्न सकिन्छ।’ 

सिमेन्टका लागि चुनढुंगाको उपयुक्त खानी सुदूरपश्चिम नै भएकाले मन्त्रालयको तर्फबाट एक प्रकारको प्रारम्भिक अध्ययनको काम सम्पन्न भएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले बताए। ‘सिमेन्टका लागि अध्ययन भइसकेको छ, प्रदेशले अध्ययन मात्र गर्न पाउँछ। उत्खनन्को काम केन्द्रकै हुने भएकाले प्रारम्भिक अध्ययन मन्त्रालयको तर्फबाट भइसकेको छ’ उनले भने, ‘चुन ढुंगाका लागि बैतडी र दार्चुला एकदमै उपयुक्त ठहर गर्दै अध्ययन प्रतिवेदन विज्ञहरुले पेश गरेका छन।्’ 

खोज नहुँदा नासिँदै खनिज पदार्थ  
खोज तथा अध्ययन नहुँदा सुदूरपश्चिममा रहेका इन्धनका स्रोत नासिँदै गएका छन्। प्राकृतिक स्रोत साधनका साथै पेट्रोलियम पदार्थको सम्भावना हुँदाहुँदै पनि सरकारी निकायबाट खोज तथा अन्वेषण हुन नसक्दा खानीहरू नासिँदै जान थालेको प्रति भूगोलविद्ले चिन्ता व्यक्त गर्न थालेका छन्। 

२०४६/४७ मा जर्मन कम्पनीले खानी पत्ता लगाउन तराई बेल्टमा सर्भे गरेको थियो। त्यसबेलाको तथ्य बाहिर आउन नसकेपनि कैलाली, कञ्चनपुरका साथै तराई बेल्टका धेरै स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पत्ता लागेको थियो।

यस्तै डोटीको कपल्लेकीमा कोइला खानीसमेत रहेको विज्ञहरु बताउँछन्। प्रशस्त मात्रामा कोइला खानी रहेपनि त्यसको अध्ययन अन्वेषण हुन नसक्दा नासिँदै गएको अधिकारीहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस