H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०२:४६
Sep 16 2021, Thursday
02:46:37 PM

'गीत आएको २ घण्टा भएको हुँदैन त्यसको डिजे मिक्स बनाइदिन्छन्"

विज्ञापन
खवर संवाददाता
२०७८ भदौ २६ ०४:०३
अ+

धनगढी: गायक राजु चौधरी (राज)सँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

संगीत क्षेत्र, गायन पेसातिर कसरी प्रवेश गर्न पुग्नुभयो ?
मेरो जन्म कैलाली हालको कैलारी गाउँपालिका–३ नम्बर वडामा भएको थियो। पढाई दिपेन्द्र मावि हसुलियामा गरे। त्यसपछि कैलाली क्याम्पसमा र केही समयको लागि पोखरा गएको थिए।  त्यहीँ पिएन क्याम्पसमा अध्ययन गरे। संगीत क्षेत्रमा प्रवेशको कुराकानी गर्दा एकदम रोचक छ।  पहिले हाम्रो पालामा रेडियो नेपाल मात्रै बज्थ्यो। अहिलेको जस्तो प्राविधि त्यो समयमा हुने कुरा भएन। अहिले त एकदम ठुलो फड्को मारेको छ।  उबेला त क्यासेटहरु मात्रै हुने र एफएम रेडियो पनि भर्खरै खुल्ने क्रममा थिए। मेरो स्वभाव नै कस्तो थियो भन्दा कतै मादल बज्यो कतै बाजा भने जान मन लागिहाल्ने। गीत सुनियो भने पनि एकदम ध्यान दिएर सुन्ने र रेडियो सुन्दा विज्ञापन बज्थ्यो त्यो समेत याद रहन्थ्यो। 

स्कुलमा पढ्दा पनि शुक्रबारको कार्यक्रममा सर म्याडमहरुले पनि गित गाउन लगाउने गर्नुहुन्थ्यो। सिनियर दाई दिदीहरुले पनि आ–आफ्नोमा गीत गाउन भन्ने। आफ्नो पालो भए पनि छाडेर मलाई दिने गर्नुहुन्थ्यो। गाउँका एक जना अग्रज जो अहिले हुनुहुन्न स्व.पतिराम चौधरीलाई गुरु मान्छु। उहाँले नै मलाई यस क्षेत्रमा स्थापित गर्न सहयोग गर्नुभयो, सिकाउनु भयो। उहाँले नै मलाई ‘अस्कर डगर’ भन्ने एल्बममा ठाउँ दिनुभएको थियो र यहीँबाट मेरो औपचारिक सांगीतिक यात्रा सुरु भयो।

औपचारिक रुपमा सांगीतिक क्षेत्रमा लागेको कति भयो ?
लगभग दुई दशक नै भइसकेको छ संगीत क्षेत्रमा काम गर्न थालेको। त्यहीँ पहिलो एल्बम २०५८ मा निकालेपछि हो। त्यसपछि एउटा गीत मात्रै गाएको थिए। उतिबेला यतातिर खासै स्टुडियो थिएनन्। अत्तरियामा मात्रै एउटा स्टुडियो रहेको थियो। हामी थोत्रो साईकल लिएर गाउँबाट अत्तरिया जान्थ्यौं।

सोह्र ऋ‌गार  भन्ने चौधरी भाषाको एल्बम २०६१ तिर निकाले। एल्बमले राम्रो नै गर्यो। धेरै ठाउँमा चिनायो पनि। त्यतिखेर मिडिया पनि खासै थिएनन् तर पनि चर्चामा नै रह्यो। अनि दोस्रो एल्बम पछि भने मैले केही समय विभिन्न समस्याका कारणले संगीत क्षेत्रमा प्रत्यक्ष रुपमा काम गर्न पाएको थिएन। साउदीमा ७ वर्ष बसेको थिए। पछि औपचारिक संगीतको शिक्षाको लागि पोखरा पनि बस्न पुगे। पछिल्लो समय ३ बर्ष भयो म सक्रिय रुपमा यो क्षेत्रमा छु। अवाज दिएका गीतको सवालमा ६/७ वटा एल्बममा मेरो गीतहरु छन्। 

बजारलाई हेर्दा कस्तो छ, सहि दिशातिर गइरहेको छ ?  संगीत क्षेत्रमा आर्थिक करियर बनाएर टेक्न सकिने अवस्था छ ? 
पक्कै पनि छ। अहिले त बजार ठूलो भइसकेको छ। पहाडीले पनि गीत सुन्छ। राना गीत र पहाडी गीत मिक्स भएर आउने गरेका छन्। फेरि एक अर्काको संस्कृति मर्ने गरेर, अन्याय हुने गरेर त गीतहरु बन्नु भएन। तर समझदारीमा मिलेर बजार बिस्तार हुनु धेरै राम्रो हो। अनि बजारको कुरा गर्दा त विभिन्न प्लेटफर्महरुले र प्राविधिको विकासले पूर्वको मान्छेले पनि पश्चिममा गाएको गीत सुन्न सक्ने वातावरण रह्यो। आर्थिक रुपले यो क्षेत्रमा टिक्न सक्ने अवस्था छ कि छैन भन्ने तपाइँको प्रश्नमा भन्नुपर्दा पक्कै पनि टिक्न सकिने अवस्था छ। पछिल्लो समय लकडाउनले मेला महोत्सव नभएर हो नत्र त विभिन्न ठाउँहरुबाट बोलाउने हुन्थ्यो नै। फेरि प्रविधिको प्रयोग गरेर आफ्नो गीतलाई बजारमा लग्यो भने पनि मेहनत गर्नेहरुका लागि बजार छ।

अबको तपाईंको तयारी के छ ? यो क्षेत्रमा आउँदै गरेको पुस्तालाई के भन्नुहुन्छ ?
अब हाम्रो दशैतिहार लगायतका पर्वहरुमा नाच्ने किसीमको गीत निर्माण गर्दै छु। एरेन्जिङको काम लगभग सकिएको छ। त्यो गीत ल्याउने तयारी छ। संगीत क्षेत्रमा अझै लाग्ने नै तयारी हो। नयाँ पुस्तालाई भन्नुपर्दा नयाँ पुरानो भन्दा पनि संस्कृतिलाई जोगाउनेतिर लाग्नुपर्छ र फेरि पुरानो पुस्तालाई पनि अन्याय गरेर अगाडि बढ्नु हुँदैन।
एउटा नाम दिएर एउटा गीत बजारमा ल्याउने गर्नु हँुदैन। यदि नामकरणको विषयमा थाहा छैन भने बरु पुरानो अग्रजलाई सोध्ने हो तर गलत राख्ने होइन। नयाँ बनाउन मिल्यो तर पुरानो बिगार्नु भएन। नयाँ पूराना थारु कलाकारलाई यही भन्न चाहन्छु। हाम्रो हातबाट पनि कतिपय ठाउँमा गल्ती भएको होला मान्छेबाट नै गल्ती हुने हो त्यसलाई सच्याउदै लैजानुपर्छ। 

गीत आएको दुई घण्टा भएको हुँदैन त्यसको डिजे मिक्स बनाईदिने चलन बढ्दै गएको छ। यसले नकारात्मक असर पारिदिन्छ। कति मेहनत गरेर कति दिन खर्च गरेर बनाइएको हुन्छ। अर्थको कुरा त छँदैछ। डिजे बनाउनुपर्छ तर प्रक्रिया त पुर्याउनुपर्यो। कस्को सम्पत्ति हो उसबाट अनुमति लिने आदि कुरा गर्नुपर्छ भन्छु। आधुनिकीकरण गर्ने हो तर कलाकार र  गीतकारलाई अन्याय हुने गरी र संस्कृति नै मर्ने गरी गर्नुहँुदैन भन्ने मेरो व्यक्तिगत भनाई हो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad