नौ स्थानीय तहका ५४ वडा सचिवविहीन
स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुग्नै लाग्दासम्म पनि जिल्लाका अधिकांश वडा सचिवविहीन छन। जिल्लाका नौ स्थानीय तहका ६९ मध्ये ५४ वटा वडा सचिव विहीन रहेको पाइएको छ। वडाको प्रशासनिक काम गर्नका लागि एक सचिवको दरबन्दी हुन्छ। वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता छ। हालसम्म पनि वडा सचिव वडा कार्यालयमा नपठाइँदा वडाका काम पनि नगरपालिकाबाटै गर्नु परेको हुँदा काममा निकै चाप थपिएको बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए। एक सचिवले दश वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उहाँको भनाइ छ। वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत असहजता भरहेको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाहीले बताए। स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नभएको र वडा कार्यालयमा सचिव नहुँदा वडाध्यक्षलाई समेत असहज भएको छ। सचिव नहुँदा दैनिक प्रशासनिक कामका लागि समेत अप्ठेरो भहरहेको बूढीनन्दा – १ का वडाध्यक्ष नृपराज खत्रीले बताए। रासस