झिनो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०।६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५।९७ मा ओर्लेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५३ अङ्कले ओरालो लागेर ५३५।२९ मा ओर्लेको छ। नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ। कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०।६, जलविद्युत् ६२।७५, जीवन बीमा ५९।३८ र लगानी ०।१७ विन्दुले बढेको छ।
बैंकिङ २।१७, होटल तथा पर्यटन ३।३१, विकास बैंक १२।०१, वित्त ३६।४३, निर्जीवन बीमा ६।३५, उत्पादन २१।७२, अन्य २२।५१, लघुवित्त १७।८८ र सामूहिक लगानी कोष ०।१६ विन्दुले ओरालो लागेको छ। कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो। अरुण भ्याली हाइड्रोपावर ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो। यस्तै रैराङ हाइड्रोपावर ९।२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७।४१ प्रतिशतले कमाए।
यसैगरी रिडी हाइड्रोपावर ५।२६, सिटिजन म्युचुअल फण्ड ५।१३, आइसिएफसी फाइनान्स ४।०२, सपोर्ट माइक्रोफाइनान्स २।९४ र युनिलिभर नेपालका शेयरधनीले २।८४ प्रतिशतले गुमाए। साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ।