सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हाम्रो पुस्ताले प्रेरणा दियौं भने आउँदो पुस्ताले भोलि राम्रो गर्ने सम्भावना रहन्छ’

२०७८ भदौ २४, ०४:०५

धनगढी: राष्ट्रिय सरोकार मञ्च कैलालीका अध्यक्ष रचित शाहसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

सामाजिक कार्यहरुमा कसरी जोडिनुभयो ?
म धनगढी उपमहानगरपालिका वडा नं १३ मा जन्मेको थिए। त्यहीँ हुर्केको, बढेको हुँ। त्यसैले पनि धनगढीसँग बेग्लै लगाव छ। सानैदेखि नै आफ्नो वरिपरि भएका कुरामा खुबै चासो लाग्ने गथ्र्याे। समय समयमा आवाज पनि उठाए। तर पछिल्लो समय जब पहिलो लकडाउन भयो त्यतिखेर रोयल कोल्याबेटिभ्सका अध्यक्ष गजेन्द्र सिंहसँग कुरा भयो। कुरा  हुँदाहुँदै उहाँहरु भन्सारमा खाना खुवाउने काम गरिरहनु भएको कुरा पनि भयो। आफ्नो हातले गर्न सकिने केही छ भने गर्नुपर्छ भन्ने सोच पहिलेदेखि थियो। र, यसरी उहाँहरुसँग जोडिए। 

पहिलो चरणको लकडाउनमा नाकामा २ महिना बसेर खाना खुवाउने काम गरियो। नाकामा १०/१५ दिन देखिका भोकभोकै मान्छेहरु आएको पनि देखियो। पहिलो चरणको लकडाउन अन्त्य भएसँगै हामी काठमाडौं गयौं। काठमाडौं गएपछि पनि रत्नपार्कदेखि लिएर सिन्धुपाल्चोकमा बाढी पहिरो जाँदा हाम्रो १०/१५ जनाको टिम त्यहाँ पनि गयौं। सकेको गर्ने प्रयास गयौं।  मैले अहिलेसम्मको यात्राबाट बुझेको पनि यहीँ हो कि चाह्यो भने प्रयास गर्यो भने सकिनेरहेछ र सकिन्छ।

राष्ट्रिय सरोकार मञ्चमा चाहिँ कसरी आवद्ध हुनुभयो ?
विभिन्न राजनीतिक दलसँग आवद्ध पनि मेरो साथीहरू छन्। उनीहरुकै प्रेरणाबाट म राष्ट्रिय सरोकार मञ्चमा जोडिन पुगेको हुँ। राष्ट्रिय सरोकार मञ्चमा मात्रै किन त भन्ने पनि होला। एउटा कारण यो संस्था कुनै पनि दलसँग जोडिएको संस्था होइन। यहाँ जसले पनि आवद्ध हुन पाउँछन्। हरेक दलका साथीहरू यसमा आवद्ध हुन पाउँछन्।  दोस्रो कारण दलमा आवद्ध भयो भने त त्यो दलले पनि कुनै गलत गर्यो भने बिरोध गर्न त थोरै अप्ठ्यारो हुन्छ नि त।  हो त्यसैले यहीँबाट सिक्दा सिक्दै सकारात्मक   रचनात्मक सहयोगका लागि यो संस्थामा आवद्ध भएको हुँ। 

राष्ट्रिय सरोकार मञ्च के हो ?
यो आफैमा एक अभियान हो। साझा फोरम हो। को कहाँबाट लागेर समाज बनाउन सकिन्छ भनेर गरिएको प्रयास हो। हजुर आएर जोडिएर सकेको काम गर्न सक्नुहुन्छ। कोही अरु आएर सकेको काम गर्न सक्छ। बिना कुनै अवरोध चासोको विषयमा काम गर्न सक्छ। यसमा सबैले जोडिने अधिकार राख्नुहुन्छ। समग्रमा हाम्रो वरिपरि भएका सकारात्मक र नकारात्मक कुराहरुमा सरोकार राख्ने र सकारात्मकतालाई सहयोग गर्ने र नकारात्मकतालाई निरुत्साहित गर्ने मञ्च नै राष्ट्रिय सरोकार मञ्च हो। जुनसुकै संगठन, दलमा लागेका मान्छेहरु जसले समाजको समस्याको विषयमा अवाज उठाउने र राम्रो गर्न भैरहेका प्रयासहरुलाई सहयोग गर्ने सोच राख्नुभएको छ उहाँहरुले एक हुँने ठाउँको रुपमा पनि राष्ट्रिय सरोकार मञ्चलाई लिन सकिन्छ।

अहिले युवा हुनुहुन्छ। समाजलाई हेर्ने दृस्टिकोण निर्माण गर्नु नै भएको होला। कस्तो छ अहिले युवाहरुको स्थिति ?
आधा भन्दा बढी युवा साथीहरू कुनै न कुनै दलमा आवद्ध छन्। हिजो जानी नजानी म पनि कुनै दलको साथीहरूसँग गए हुँला तर कुनै दलको साधारण सदस्यता लिएको छैन। अर्को कुरा अधिकांश युवाहरु लागुऔषधको लतमा लागेका छन्। आउदै गरेको पुस्ता भन्दा हाम्रो पुस्ता केही हदसम्म भए पनि केही गरौंन भन्ने भाव भएका छन्। 

धनगढी वरिपरिका युवाहरुलाई हेरेर भन्ने हो भने हामीले, हाम्रो पुस्ताले केही प्रेरणा दियौं भने नयाँ पुस्ताले पनि भोलि राम्रो गर्ने सम्भावना रहन्छ। नत्र परिवर्तन हुने स्थिति रहदैन। धनगढीकै कुरा गरौं भने पनि यहाँ भएका विकास निर्माणहरुमा कसैलाई सरोकार नै छैन। ठुलै मुद्दामा सबैलाई बोल्नु छ। फेसबुकमा मात्रै लेख्नुछ, सकियो। कोही युवा पनि आफुले जिताएको जनप्रतिनिधिलाई प्रश्न नै गर्दैन। के हुँदैछ भनेर चाँसो र सरोकार नै देखाउँदैनन्। सबै बिग्रिएपछि मात्रै बोल्ने प्रवृत्ति अहिलेको युवामा देखिन्छ। 

जनप्रतिनिधि पनि हाम्रै समाजका दाजुभाई, दिदीबहिनी त हुन। हाम्रो परिवारकै मान्छे त हुन्। यदि समयमै हामी हरेक कुरामा सरोकार राख्न थाल्यौ भने कसैलाई गाली गर्नुपर्ने स्थिति आउँछ भन्ने मलाई लाग्दैन। 

(पूरा अन्तरवार्ता दिनेश खबरको युट्युब च्यानलमा हेर्नुहोला।)
 

कमेन्ट लोड गर्नुस