कैलालीबाट त्रिविमै दोस्रो स्थान हासिल गरेका धरणीधर
कैलाली: कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बीबीएम पहिलो सेमेस्टर त्रिभुवन विश्वविद्यालयमा दोस्रो स्थान प्राप्त गर्न सफल धरणीधर भट्टसँग कार्यक्रम प्रभात विमर्श सञ्चालक पदमराज जोशीले गरेको कुराकानीमा आधारित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
मैले गरेको मेहनत र पढाईलेखाइ हेर्दा राम्रो नतिजा आउँछ भन्ने त लागेको थियो तर परीक्षा दिँदै गर्दा त्रिभुवन विश्वविद्यालयकै स्थान प्राप्त गर्छु भन्ने लागेको भने थिएन। कोरोनाको कारण परीक्षा थोरै पछि सरेको थियो त्यसले थोरै प्रभाव त पर्यो। पुरानै लेबलमा ल्याउनका लागि अझ बढी मिहिनेत गर्नुपर्यो। नतिजा आएको दिन पनि त्रिविको स्थान क्रम त्यति छिट्टै देखिदैन। दाइहरुले ‘भाई हामीहरु हेर्दै छौँ जिपीए ३.८८ आएको छ। विश्वविद्यालयमा नै स्थानको लागि थोरै पर्खिनु पर्छ होला’ भनेपछि एकदमै खुशी महसुस भएको थियो। पहाडबाट यता आएर मेहनत गरेर एक किसीमको सफलता हातपार्दा खुसी नै महसुस हुँदोरहेछ।
मेरो विद्यालयको पढाई चाहिँ डोटीमा नै भयो। एसईई केदारेश्वर माध्यमिक विद्यालयबाट दिएको थिए। शिखर नगरपालिका डोटीमा जन्मेको प्रविणता तह पढ्न भने कैलाली बहुमुखी क्याम्पसमा पुगे। प्रविणता तहमा पनि आफ्नो संकाय अर्थात् व्यवस्थापन संकायको उत्केष्ट नै भएको थिए। ११ मा ३.३५ र १२ मा चाहिँ ३.६८ जिपीए प्राप्त गरेको थिए।
विद्यालय तहमा चाहिँ औसत नै थिए। त्यस्तो स्थान प्राप्त गर्ने मध्येको थिएन। पढ्न अल्छी लाग्थ्यो। स्कुल लेबलका सरहरु सहयोगी प्रकृतिको हुनुहुन्थ्यो। अहिलेको यहाँसम्म पुग्नुमा पनि उहाँहरुकै मार्गदर्शन हाे। त्यो समय भने पढ्नु बोझ जस्तो लाग्थ्यो। तर यो आधुनिक र प्रतिस्पर्धाको जमानामा अरु चिज पनि चाहिन्छ तर पढाई सबैभन्दा महत्वपूर्ण हो भन्ने लाग्न थाल्यो। तबदेखि भने म मेहनत गर्न थाले। त्यसपछि सुधारिएको नतिजाहरु आउन थालेका छन्। १० मा पढ्दासम्म पनि पढाई बोझ नै लाग्थ्यो तर जब ११ को पढाईको लागि धनगढी आए तब महसुस हुन लाग्यो कि परिवारको लगानी नै फर्काउन भए पनि केही न केही गर्नुपर्छ। मेहनत गर्नुपर्छ। यसले अहिले यहिँ सोचले नतिजा सुधारात्मक भएका छन्।
परीक्षामा राम्रो नजिताको लागि मेरो अनुभव अनुसार चाहिँ पढ्नु धेरै पर्याे। दोहोर्याए पढ्नु पर्यो। लेख्ने कलाले पनि ठुलो प्रभाव पार्छ। पढेका कुरा परीक्षामा ३ घण्टामा लेख्न सक्नुपर्ने हुन्छ। तरिका आफ्नो बनाउनु पर्याे।
परीक्षा हलमा जानुपूर्व यस्तो अनुभूति लिएर जानपर्यो कि जस्तो सुकै प्रश्न आएपनि लेख्नसक्छु। नोट बनाएर पढ्दा धेरै ठाउँबाट संकलन गरेर पढ्नुपर्यो र आफ्नो नोट पनि त्यहिँ अनुरुपको बनाउनु पर्याे। किताबमा मात्रै सिमित नरहेर अन्य श्रोतबाट पनि विषयबस्तु खोज्नु पर्यो। लेखाई पनि शुद्ध लेख्नुपर्यो। मान्छेले यदि हामीले लेखेको राम्रो तरिकाले बुझ्न सकेन भने त गाह्रो हुन्छ नि।
(भट्टसँग कुराकानीमा आधारित)