देउवालाई जिल्ला सभापति मल्लको पत्र: क्रियाशील सदस्यहरुको नामावली पुनरावलोकन गरिदिनू
धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लले क्रियाशील सदस्यहरुको नामावलीमा पुनरावलोकन गरिदिन आग्रह गर्दै पत्र पठाएका छन्। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको सदस्यहरुको नामावलीमा व्यापक हेरफेर गरिएको भन्दै उनले बुधबार सभापति देउवालाई निवेदन पठाएका हुन्।
उनले केन्द्रले विभिन्न वडामा ४ सय ६० क्रियाशील सदस्यको नाम काटेको तथा कुनै प्रक्रिया नपुगाएर ३ सय १२ जनाको नाम थपेर पठाएको, जिल्लाका ४ तहले नविकरण नगरेका व्यक्तिहरुको नाम नविकरण गरी पठाएको गरी ७ वटा त्रुटि भएको भन्दै सच्याउन माग गरेका छन्।
मल्लले सोही ७ त्रुटिका कारण हाललाई जिल्लाको सातौं अधिवेशन स्थगित गरिएको जानकारी समेत सभापति देउवालाई पत्रमार्फत जानकारी गराएका छन्।
नयाँ निर्वाचन अधिकृत पठाउन आग्रह
यस्तै सभापति मल्लले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिलाई सातौं अधिवेशन गर्ने माहोल मिलाईदिन समेत पत्र पठाएका छन्। निर्वाचनमा खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बैठकमा उपस्थित भएर बैठक पुस्तिमा हस्ताक्षर नगरेको समितिलाई लेखेको पत्रमा उल्लेख छ। सभापति मल्लले निर्वाचन अधिकृत बमले जिल्ला कार्य समितिसँग छलफल तथा समन्वय नगरी अज्ञात स्थलबाट अधिवेशनको मिति तोकेको भन्दै उनलाई हटाएर नयाँ निर्वाचन अधिकृत पठाइदिन समेत समितिलाई आग्रह गरेका छन्।
मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले निर्वाचन सामग्री नबुझाएको र उनी लगायत एक पक्षीय कार्यकर्ताहरुले बैठक पुस्तिकामा दस्तखत गर्न नमानेका कारण अधिवेशन स्थगित गर्ने निर्णय गरेको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लले बताएका थिए।
आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो।
नेपाली कांग्रेसका कार्यालय सचिव राम विष्टका अनुसार कार्यसमितिले २ हजार ५ सय ६ नयाँ सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम गरेर ५ हजार ८ सय ४ जनाको नामावली सिफारिस गरेको थियो। जसमध्ये ४६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ।
हटाइका सदस्यहरुमा जिल्ला सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, पूर्व जिल्ला सभापति तथा पूर्व परशुराम नगर सभापति तारी सिंह बोहरा, त्रिभुवन विश्व विद्यालयका पूर्व स्ववियू सभापति लोकराज भट्ट, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन्।
पार्टीका उपसभापति करुणाकर भट्टका अनुसार आफूहरुले नामै सिफारिस नगरेका ३१२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ। त्यस्तै ३ हजार १ सय ४४ नयाँ र २ हजार ५ सय ९८ पुराना गरेर गरेर केन्द्रबाट ५ हजार ७ सय ४२ जनाको नाम नामावलीमा सार्वजनिक भएको उनले बताए।