‘चुनावमा शिक्षा एजेन्डा बन्दैन’
धनगढी: ग्ली एकेडेमी धनगढीकी प्रधानाध्यापक शान्ती भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईंको बाल्यकाल र शैक्षिक पृष्ठभूमिको विषयमा बताइदिनुस् ?
म मान्छे नेपाली भए पनि जन्म मेरो भारतमा भएको थियोे। बुवा कामको शिलशिलामा भारतमा भएकाले पढाई पनि ६ कक्षासम्म भारतमा नै भयो। एसएलसी बैतडीबाट पास गरे भने इन्टर डडेल्धुराबाट र स्नातक कञ्चनपुरबाट पास गरे। स्नातकोत्तर भने कैलालीबाट पास गरे। अहिले एमफिल भने अहिले काठमाडौंबाट गर्दैछु।
शिक्षण पेसामा नै आफ्नो भविष्य बनाउने प्रेरणा चाँहि कहाँबाट पाउनुभयो ?
मेरो पढाई एकदम विकट ठाउँबाट भयो। जहाँ केटीहरु स्कुल पढ्ने भन्ने कुरा नै एकदम कम हुन्थ्यो। त्यहाँबाट मैले एसएलसी पास गरेकी थिए। १० जना मात्रै केटी साथीहरु थिए। जसमा ४ जना विवाहित हुनुहुन्थ्यो। सबै साथीहरु गणित विषय पढाई नै नभईदिए पनि हुने भन्थे। तर मलाई भने गणित पढाउने सरले पढाएको एकदमै फरक र विशेष लाग्थ्यो।
त्यो समयमा पनि गणित पढाउनु हुने सरमा विशेष किसिमको तरिका थियो। उहाँबाट मसहितको एउटा सानो समूह थियो जो उहाँबाट खुब प्रभावित थियो। त्यो समयमा शिक्षक नै बन्ने भन्ने त सोच्ने कुरा भएन। मैले एसएलसी नै १४ वर्षको उमेरमा दिएको हो। तर पनि शिक्षण पेसाप्रति एकदम सकारात्मक हुन पुगे। बच्चाहरुको अगाडि गएर आफुसँग भएको कुरा व्यक्त गर्न सकिन्छ भन्ने कुराले प्रेरित गर्यो पहिलो कारण। दोस्रो चाहिँ मलाई अंग्रेजीमा खुब रुचि थियो। १० सम्म गणित मन परेको कुरा मैले भनी नै सके। सरकारी स्कुलमा पढेको हुनाले अंग्रेजीको त्यस्तो महत्त्व राखेर पढाई हुँदैनथ्यो तर पनि आइएसी पढ्न बाहिर जानुभएका गाउँका दाईहरु घरतिर आएको बेला म सँग अंग्रेजीमा बोल्नुहुन्थ्यो। त्यसबाट पनि प्रेरणा मिल्यो।
अहिले परिस्थितिलाई नियाल्दा जुन गतिले शिक्षा अगाडि बढीरहेको छ, के यो प्रयाप्त छ ?
जुनसुकै ठाउँ र देश विकसित हुने भनेको त त्यहाँको शिक्षाले हो। यदि आम मानिस राम्रो शिक्षित छन् भने त्यो ठाउँ आफै विकसित भइहाल्छ। अहिलेको समयमा शिक्षामा जोडदिए, राम्रो शिक्षा दियौं भने, राम्रो इन्जिनियर, डाक्टर, प्राध्यापक बनायौं भने त माथिको विकासको काम त उहाँहरुले गरिहाल्नु हुन्छ नि। तर त्यसमा सम्बन्धित निकायहरुको ध्यान एक दमै कम छ।
म त निजी स्कुल सञ्चालिका हुँ त्यो फरक निर्माण हुन पुग्यो नि त। कसैले कस्तो शिक्षा कसैलाई कस्तो शिक्षा फरक फरक भयो नि। यसमा स्थानीय, केन्द्रीय हरेक निकायले ध्यान दिनुपर्ने थियो। तर दिनुभएको जस्तो देखिँदैन। चुनावहरुमा पनि सडक, बिजुली, पानी आदि प्रधान एजेन्डा बन्छन् तर शिक्षा पर्दैन। व्यक्तिगत रुपमा म कुनै दलसँग आबद्ध पनि छैन म त्यो रुचाउदैन पनि। तर अनुरोध चाहिँ मेरो के हो भने पहिला शिक्षालाई विकास गरौं न। जनशक्ति उत्पादन भएपछि त त्यो आफै निर्माण गरिहाल्छन् नि।
अहिलेको समयमा लकडाउन भयो, सबैलाई त होइन तर पनि धेरैजसो विद्यालयलाई के गर्ने भन्नेसम्म पनि भएन। अस्ति एउटा प्रतिवेदन पढ्दै थिए ७५ प्रतिशत विद्यालयको ताला नै खोलिएको छैन। अब त्यहाँ पढिरहेको विद्यार्थीको हालत के होला। यस्तो प्रतिस्पर्धाको जमानामा त्यहाँ पढ्ने त पछाडि पर्यो नि। यसरी नै पछाडि पर्दैछौँ। तर यो छलफल बहस र समाधानको विषय कहिल्यै बन्दैन। सहजीकरण गर्नसक्ने विभिन्न तहहरु तथा निकायहरु थिए तर त्यो भएन।
ग्ली एकेडेमी अस्तित्वमा किन आउनुपर्ने ?
मैले मेरा केही अनुभव त सुनाए। व्यक्तिगत रुपमा पनि ग्लीको सञ्चालकको रुपमा आउनु भन्दा पहिला मेरो १५ वर्षको समय शिक्षण पेसामा नै बिताए। धेरै ख्याति प्राप्त स्कुलहरुमा अध्यापन गराए। हाम्रो शिक्षा चाँहि ४ वटा भित्तामा सिमित भयो। विद्यार्थीलाई त्यहाँ राख्ने, रटाउने, घोटाउने र ‘ए प्लस’ ल्यायो भने ताली पिट्ने। अहिले सम्मको शिक्षा यही हाे। म पनि यही पद्धतिबाट आएको हो। आफ्नो मन न हुँदाहुँदै पनि शिक्षण पेसामा यही पद्धतिबाट पढाएको हो। पढाउदै गर्दा आफूलाई नै कताकता केही फरक स्कुल भए हुन्थ्यो लाग्थ्या।े फरक पद्धति हुनुपर्छ लागे पनि स्कुल खोलौला भन्ने त लागेको थिएन तर पछि अमेरिकाको बसाईपछि भने अब गर्नैपर्छ भन्ने लाग्यो।
अहिले ग्लीमा हामी फाउन्डरहरु सबै १०/१५ वर्षको अनुभव भएका र एकै किसिमको भिजन भएका मान्छेहरु छौ। हामी प्रत्येक विद्यार्थीलाई ध्यानमा राखेर अध्यापन गराउनुपर्छ भन्ने मान्यताका छौ। ग्ली पहिलेदेखि नै अस्तित्वमा त थियो तर जब हामीले लियौँ तब देखि नै हामीले हरेक बच्चालाई ध्यानमा राखेका छौं। र, बच्चालाई पढाउने भन्दा पनि सिकाउने कुरामा विश्वास राख्ने भएकाले यस्तो सोच राख्ने अभिभावकहरुका लागि ग्ली नै विशिष्ट हो भन्छु।