प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण
विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा सात, इलाममा पाँच, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको हो।
प्रदेशमा आजै ४१० जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १९८ महिला र २१२ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जना महिलासहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।