सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बाहिर जाने भनेको प्रविणता अथवा स्नातक तह पास गरेर हो’

२०७८ भदौ १९, ०४:२६

धनगढी: नेपाल वेस्टर्न म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ बिएचएम एचओडी प्रमोद श्रेष्ठसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।

तपाईंको जीवनलाई छोटोमा सम्झना गर्नुभयो भने के थियो ?
म महेन्द्रनगरमा जन्मेको थिए। स्कुलको पढाई महेन्द्रनगर र धनगढीमा भयो। एसएलसी इन्टरनेसनल पब्लिक स्कुलबाट पास गरेको थिए। कक्षा १२ सम्म भारतमा पढेको थिए। आफू पढ्ने स्कुलको टपर भएर नै पास भए। त्यसपछिको पढाईका लागि २००६ मा साइप्रस गए र त्यहाँ नै गरे। वैदेशिक बसाई एक किसिमको संघर्षमय नै भयो।  त्यहाँ गएर पूर्ण तह समय पढाईकै लागि भनेर सम्भव हँुदैन। पढाईको शुल्क निकाल्नको लागि भए पनि काम गर्नु नै पर्ने हुन्छ। फेरि काम गर्दा गर्दै पढाई छोड्ने कुरा पनि भएन। पढ्न गएपछी पढाईलाई निरंतरता दिनु नै पर्छ। मैले पनि २०११ मा साइप्रसको युरेपियन युनिभर्सिटीबाट स्नातक तह पास गरे। बिबीए इन हस्पिटालिटी म्यानेजमेन्टको पढाई सकेपछि २०१२ मा धनगढी आए।  धनगढी आए र नेपाल वेस्टर्न म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ कलेजमा डिपार्टमेन्ट हेर्ने गरि जिम्मेवारी सम्हालेको थिए। अहिले पनि त्यहीँ आवद्ध छु। साथै सिसिएसमा पनि होटल म्यानेजमेन्ट विषय पढाइरहेको छु।

देश बाहिर फरक परिवेशमा कमाएर पढ्दाको अनुभूति कस्तो हुँदो रहेछ ?
बाहिर जाने भनेको प्रविणता तह सकेर अथवा स्नातक तह पास गरेर हो। कक्षा १२ पास गर्दा सम्मको उमेर काँचो उमेर हुन्छ। कुनै पनि काम गरेको हुदैनौँ। त्यो बेला अनुभव र सीप हातमा हुँदैन। त्यसैले थोरै काम खोज्न संघर्ष गर्नुपर्ने हुन्छ। घरमा त हामी त्यतिकै बस्छौं कुनै पनि काम नगरेर। कसैमाथि आश्रित भएर। तर बिदेश गएपछि त कलेज फी, ट्युसन फी जीवन चलाउन आदि इत्यादि सबै खर्च आफैले जुटाउनुपर्ने स्थिति अधिकांश नेपाली विद्यार्थीको हुन्छ। ८ घण्टा काम गर। पूर्णतः पढाई पनि गर। कुनै समय त पर्यो भने राति १२ बजेसम्म काम गरेर बिहान ५ बजे कक्षा लिनुपर्ने अवस्था पनि हुन्छ। विदेश चुनौतीपूर्ण नै हुन्छ। त्यहीँ सामना मैले पनि गरे जस्तो लाग्छ।

विदेशको वातावरणमा घुलमिल भइसकेपछि तथा सीप आर्जन गरिसकेपछि देश फर्किन के ले प्रेरित गर्नेरहेछ ?
यो सवालमा तपाईंको परिवारिक पृष्ठभुमि के छ ? तपाइँको सोच के छ ? भन्ने कुराले प्रभाव पार्छ। कसैको सोच नै उतै बस्ने भन्ने हुन्छ। कसैको परिवारको स्थितिले साथ दिँदैन। जस्तो घरमा एक्लो छ र आमाबुवा एक्लै रहने स्थिति छ आदि कुराहरुले रहने फर्किने कुरा निर्धारण गर्छ। मैले आफ्नो कुरा गर्दा परिवारिक कारणले फर्किए र पछि यो सोचपनी आयो कि आफूसँग भएको सीप, जानेको ज्ञान आफ्नो ठाउँमा बाड्न पाए भने राम्रो नै हुन्छ। त्यहीँ समयमा नयाँ पुस्तासँग आफुले जानेको कुरा बाड्ने त हो नि भन्ने कुरा महसुस हुन थाल्यो।

युरोपको टप युनिभर्सिटीमा हाँसिल गरेको ज्ञानको महत्त्व यहाँ झन बढी छ भन्ने पनि २०१२ मा धनगढी फर्किदै गर्दा र अहिले कार्यरत कलेजसँग जोडिदै गर्दा लाग्यो। त्यो सुरुवातको समय अहिलेको जस्तो भौतिक संरक्षण, ल्याब आदिको व्यावस्था राम्रो थिएन। तर पनि त्यसलाई सुधार गर्दै लैजानु सबैको लागि आवश्यक थियो र त्यसमा म पनि लागे। यसरी यी कुराले नै मलाई फर्काउन मदत गर्यो र फर्किए।

अहिले भर्खरै एसईई पास गरेक विद्यार्थीलाई तपाईंको सुझाव के रहन्छ ?
पहिलो कुरा तपाईंको रुचि के हो ? पत्ता लगाउनु पर्यो। आफ्नो रुचि आफैले पत्ता लगाउने हो। यो काम सुरुमा नै गर्नुपर्छ। त्यसपछि तपाईंको रुचिसँग उपयुक्त हुने कार्यक्रम के हो दोस्रोमा यसको जबाफ खोज्नु पर्यो। र, सहि कार्यक्रम रोज्नुपर्यो। तेस्रो कुरा कार्यक्रम रोजी सकेपछि कस्तो संस्थामा पढ्ने त भन्ने पनि खोज गर्ने र जानकारी लिने। संस्थाको बारेमा पनि जानकारी लिँदा तीन वटा कुरामा ध्यान दिनुपर्यो। त्यो संस्थाको एकेडमीक टिम, त्यो संस्थाको विगतको रिजल्ट र पूर्वाधार। यी कुरामा पूर्ण जानकारी लिनुपर्यो र अगाडि मेहनत गर्दै जानुपर्यो भनेर भन्छु।

(पूरा अन्तरवार्ता दिनेशखबरको युट्युब च्यानलमा हेर्नुहोला ।)

कमेन्ट लोड गर्नुस