डेउडा मार्फत निर्मलाका लागि न्यायको माग
‘भन्थ्यौँ घरघरमा आयो सिहंदरबार,
हाम्री चेली निर्मलालाई न्याय देउ सरकार’ ।।
शनिबार बैतडीका महिलाहरु डेउडा खेल्दै निर्मलाका हत्यारालाई पत्ता लगाइदिन सरकार समक्ष आग्रह गरिरहेका थिए। बैतडीको पाटनमा १६ दिने लैगिंक हिसा विरुद्धको अभियान अन्तर्गत भएको डउडा कार्यक्रममा सहभागी महिलाहरुले निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तका परिवारले ४ महिना सम्म न्याय नपाएको भन्दै महिलाहरुले डेउडा मार्फत सरकारको कडा आलोचना गरेका छन्।
महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्न पनि उनीहरुले डेउडा मार्फत आग्रह गरेका छन्। परोपकार ग्रामीण विकास संघको आयोजनामा भएको डेउडा कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न ६ ओटा महिला समूहहरुको सहभागिता रहेको थियो। आफूहरुले डेउडा ा मार्फत महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र निर्मला पन्तलाई न्याय दिनका लागि आग्रह गरेको सहस्त्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताइन्। सरकारले आफूहरुको आवाज अझै पनि नसुनेकाले देउडागीत मार्फत सरकारको ध्यानाकर्षण गराएको उनले बताइन्। कार्यक्रममा उज्जवल महिला समूह, भूमीराज महिला समूह, उदयदेव महिला समूह, सहस्त्रलिंग महिला समूह, एकता महिला समुह र अनिरुद्र महिला समूहको सहभागिता रहेको थियो।
परोपकार ग्रामीण सघका अध्यक्ष जानकी अवस्थीको अध्यक्षता भएको डेउडा कार्यक्रममा पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट प्रमुख अतिथी रहेकी थिईन्। डेउडा कार्यक्रममा सहभागी महिला समूहहरुलाई प्रति समूह १ हजार ६ सयका दरले पुरस्कार प्रदान गरिएको सामाजिक अभियन्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए।
यसैबीच बैतडीको सुर्नया गाउँपालिकामा पनि लैगिंक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने अन्तरक्रिया सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष लीला बिष्टको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रियामा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य नरेन्द्र बिष्ट, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष पार्वती भट्ट र महिला शक्ति केन्द्रका अध्यक्ष देवु ठगुन्नाको समेत सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाभरीका ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ। यस्तै सनिबारैै वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ।