सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको ज्यादतीः दार्चुलाको आकाशमा निरन्तर हेलिकप्टर उडान, सरकार मौन

भारतलाई प्रजिअको पत्र

फोटो: कान्तिपुर
फोटो: कान्तिपुर
२०७८ भदौ १८, १२:५७ खबर संवाददाता

धनगढीः साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काउँदा नेपाली युवा जयसिंह धामी बेपत्ता भए। गृह मन्त्रालयले गठन गरेको छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीका अधिकारीले तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ।  

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ। पछिल्लो ३ दिनयता दार्चुला सदरमुकाम खलंगा र ब्यास गाउँपालिकामा क्षेत्रमा निरन्तर भारतीय हेलिकप्टर उडाउन थालिएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले बताए।

‘खलंगा क्षेत्रमा हेलिकप्टर उड्न थालेपछि हामीले सो क्षेत्रमा हेलिकप्टर नउडाउन भनेका छौ।’ प्रजिअ जोशीले भने, ‘पत्र पठायौं, जवाफ आएको छैन।’ तीन दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो। तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको छ।

यस्तै प्रदेश सरकारको कानून मन्त्रालय र गृह मन्त्रालयलाई जानकारी गराएको समेत उनले बताए। स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर आपत्ति जनाएको छ। पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रजिअ जोशीले बताए। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा गृह मन्त्रालयलाई पनि जानकारी दिएको छ। तर, गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

कमेन्ट लोड गर्नुस