सिमकोट विमानस्थल दिनभर व्यस्त
सिमकोट: हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो। सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो।
आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ। तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए।
हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिए। तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ।
पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी आज सद्गुरु सिमकोट आई आजै पोखरा फिर्ता हुनुभएको हो । हेलिकप्टरबाट सिमकोट फर्किनुभएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए। दर्शनको यात्रामा भने केही कठिनाइ हुँदा पैदलमार्गको सडकलाई विकसित गर्न आवश्यक रहेको उनको भनाइ थियो। पैदलमार्गबाट लाप्चा पुगेको उनको टोलीलाई हेलिकप्टरले आज सिमकोट पु¥याएको थियो।