१६ वर्षीय युवाले ड्रोन क्यामरा उडाएपछि ...
महेन्द्र नमूना माध्यमिक विद्यालयमा प्रतिभा पहिचान कार्यक्रम चलिरहेको थियो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आफुले बनाएका विभिन्न सामाग्रीहरु क्रमश प्रदर्शन गरेका थिए । विद्यालयको अनुशासित तथा सरसफाई समितिले आयोजना गरेको शैक्षिक सामाग्री प्रदर्शन एवं प्रतिभा पहिचान कार्यक्रम राखिएको थियो । विद्यालयले नियमित पढाईको अतिरिक्त विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्ने कार्यक्रम थियो । विद्यालयको प्रांगणमा विद्यार्थीले बनाएका सामाग्री छ्यापछ्याप्ती राखिएको थियो । विज्ञान, गणित, साहित्य र विविध विधामा विद्यार्थी पहिचान कार्यक्रम आयोजना गरिएको थियो । महेन्द्र नमूना मावि खलंगामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मनिष जोशीले हजारौ विद्यार्थीको माझमा छुट्टै कला देखाए । सानैदेखि विज्ञान र अनुसन्धानमा सोखिन जोशीले विज्ञानमा नयाँ नयाँ प्रयोग गर्दै आएका छन् ।
विज्ञान विषय अन्तर्गत उनले विम डिस्पोलको सफल परिक्षण गत वर्ष गरेका थिए । अहिले उनले स्थानीय सामाग्रीको प्रयोग गरी ड्रोन क्यामरा बनाएर आकाशमा उडाए । आफ्नै विद्यालयमा भएको शैक्षिक सामाग्री प्रदर्शनी एवं प्रतिभा पहिचान कार्यक्रममा ड्रोन क्यामरा बनाएर उडाएपछि सबैको ध्यान खिचेको छ । रिमोट कन्टेलको माध्यमबाट क्यामरालाई नियन्त्रण गर्छन् । घरायसी वस्तुको प्रयोग गरिएको छ । गुगलमा ड्रोन क्यामरा बनाउने प्रविधि हेरेरै एक हप्तामा क्यामरा तयार गरेको हुँ, जोशीले भने । क्यामरामा प्रयोग गरिएका फ्रेम स्थानीयवस्तु रहेका छन् । नयाँ खोज अनुसन्धानमा उनको रुची छ । विज्ञान मार्फत नयाँ प्रविधिमा रम्न रुचाउँछु, उनले भने, सानैदेखिको सोख हो खोजी गर्ने । ड्रोन क्यामराको लागि चाहिने मोटर काठमाण्डौबाट मगाएर बनाएको हु । गत वर्ष प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उनले दार्चुलामा भएको कार्यक्रममा वम डिस्पोजल सामाग्री बनाएका थिए । जसको कारण जिल्लामा मात्र नभएरै प्रदेशमै उत्कृष्ट भएका थिए । त्यही डिस्पोज सामाग्री राष्ट्रिय प्रतिभा पहिचानसम्म पुग्दा तृतीय भएका थिए । त्यही हौसलाले उनलाई विज्ञानमा नयाँ वस्तुको प्रयोग गर्ने जागर चल्यो । उनी भन्छन्,– विद्यालयका शिक्षकहरुको सहयोग, घर परिवारको सहयोगले मैले विज्ञानमा नयाँ नयाँ अनुसन्धान थालेको छु । केही नयाँ गर्नुपर्छ भन्ने सोच हुन्छ, गुगलहरुमा हेर्छु, त्यही अनुसार सामाग्री व्यवस्थापन गर्ने गरेको छु– उनले भने । जोशीको एकपछि विज्ञानमा देखाएको प्रदर्शनले विद्यालयको मात्र नभई समग्र जिल्लाको पहिचान गराएको विद्यालयका शिक्षक जयराज जोशीले बताए ।
दुई चार वर्षयता विद्यालयमा प्रतिभावान विद्यार्थीहरु देखिदै आएका छन् । शुरुमा विद्यार्थीहरुलाई विज्ञानमा खोजी गर्न आफैले सामाग्री व्यवस्थापनदेखि सबै क्रियाकलाप सिकाउनुपर्ने अवस्था थियो विज्ञान गणित विषय शिक्षण गर्दै आएका शिक्षक जोशीले भने, तर हाल आएर विद्यार्थीहरुले प्रतिस्पर्धात्मक रुपमा विज्ञानमा नयाँ प्रतिभा देखाइरहेका छन् । दुई वर्ष अघि महेन्द्र नमूना मावि खलंगाका बीरेन्द्र बडाल र साहित्यमा गोविन्द डडालले राष्ट्रिय प्रतिभा पहिचानमा सहभागिता जनाएका थिए । गत वर्ष विद्यालयको तर्फबाट सहभागी भएका गणितमा धिरज भट्ट र विज्ञानमा मनिष जोशीले राष्ट्रिय प्रतिभा पहिचान कार्यक्रममा तृतीय स्थान हासिल गरेका थिए । साहित्यमा राजेन्द्र प्रसाद बडुले सान्तवना स्थान हासिल गरेका थिए । गत वर्ष बम डिस्पोजल सामाग्री बनाएर राष्ट्रिय प्रतिभा पुरुस्कारमा तृतीय स्थान हासिल गरेका मनिषले यस पटक ड्रोन क्यामरा बनाएर झन राम्रो काम देखाएका छन्, विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले भने,–गत वर्षको भन्दा अझै पुरस्कृत रुपमा विज्ञानमा नयाँ खोज भएको छ । यस पटक राष्ट्रिय प्रतिभा पुरुस्कारमा पहिलो स्थान हासिल गर्ने गरी विद्यार्थीहरुले मेहनत गरेका छन् ।