सुदूर नेपाललाई विश्वसँग जोड्दै

तुइन प्रकरणको छानबिन प्रतिवेदनप्रति पीडित परिवारको असन्तुष्टि, भन्छन्, ‘नेपाल भारतसँग डराएको हो’

२०७८ भदौ १६, ०६:५४ कमल सावद

धनगढीः गत असार १५ गत दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ माल गाउँका ३३ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा बेपत्ता भएपछि गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतमको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो। समितिले एक महिनापछि उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ। 

प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन फुकालेको दाबी गर्दै आएका थिए भने समितिको प्रतिवेदनमा घटना हुँदा एसएसबीको उपस्थिती रहेको उल्लेख छ। प्रतिवेदनमा संग्लनताबारे अनुसन्धान हुनुपर्ने उल्लेख छ। 

उक्त प्रतिवेदनलाई आफन्त तथा स्थानीयले गोलमटोल भनेका छन्। जयसिंहका भाई नरेन्द्रसिंह धामीका अनुसार प्रत्यक्षदर्शीले सरकारी टोलीसँग भारतीय एसएसबीले तुइन काटेको बताएको तर समितिले उक्त कुरा प्रतिवेदनमा नराखेको बताए। ‘प्रत्येक्षदर्शीले पनि भारतीय एसएसबीले तुइन काटेको भनेका थिए। तर उहाँहरुले त्यो कुरा उल्लेख गर्नु भएन। नेपाल भारतसँग डराएको हो’ उनले भने।

 पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सीमा बल (एसएसबी)का जवानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै प्रतिवेदन गृह मन्त्रीलाई बुझएको भन्दै आफन्त चिन्तित भएका छन्। स्थानीय दिपेन्द्र बुढाथोकीले समितिको प्रतिवेदनप्रति सन्तुष्ट नभएको बताए। ‘फुकालेर बगेको हो भनेका छन्। अरु पनि तरेका थिए। तर फुत्किएन। तर जयसिंह जाँदा फुकाएको हो’ उनले भने।

प्रतिवेदन बुझाएपछि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन फुकालेको–नफुकालेको भन्ने बारे उल्लेख गरिएको छैन। त्यसले स्थानीयमा न्याय पाउने आशा कमजोर बनेको आभास भएको छ। ब्यास गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले प्रतिवेदन महाकालीमा बंगाएको आरोप लगाए। ‘देखेको कुरा भनेका छन्। तर उहाँहरुले लेख्नुभएन। यस्तो हुँदो रहेछ’ उनले भने। 

घटनाबारे छानबिन गर्न गठित समितिले एक महिनासम्म पनि प्रतिवेदन बुझाउन आलटाल गरेको भन्दै विरोध भएको थियो। तर मंगलबा प्रतिवेदन बुझाइएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो। उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। 

प्रत्यक्षदर्शीले एसएसबीका जबानले तुइन खुस्काइदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको बयान दिएका थिए। बयानका आधारमा प्रतिवेदनमा घटनामा एसएसबीका जवानहरूको संलग्नता भएको किटान गर्नुको साटो उपस्थिति भनेर गोलमटोल पारिएको छ। प्रतिवेदनमा भारतीय भूमिमा भएको घटनाले कतिपय सन्दर्भमा अनुसन्धानमा जटिलता रहेको उल्लेख गरिएको हो। एक महिनापछि बुझाइएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको स्रोतको दाबी छ।

गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। प्रतिवेदनमा छानबिनमा भारतीय पक्षले असहयोग गरेको भन्नेचाहिँ उल्लेख गरिएको छ।

 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस