सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनामा खट्न मन्त्री जोशीको निर्देशन

२०७८ भदौ १४, ११:३४ खबर संवाददाता

धनगढी: आइतबार राति दार्चुलामा गएको बाढीपहिरोबाट पीडितहरुको उद्धार तथा पुनः स्थापना गर्न सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले निर्देशन दिएकी छिन्। 

अविरल वर्षाका कारण बाढी र पहिरोले धनजनको क्षति भएपछि मन्त्री जोशीले उद्धार, राहत र पुनःस्थापना लगायतका काममा खट्न स्थानीय सुरक्षा निकाय, प्रशासन र स्थानीय सरकारलाई निर्देशन दिएकी हुन्। उनले  प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाइन्। 

दार्चुलाका विभिन्न भेगमा आइतबार राति गएको बाढीपहिरोमा परी ३ जना मृत्यु भएको छ। यस्तै अन्य दुई जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। 

यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। आएको बाढीपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।
 

कमेन्ट लोड गर्नुस