दार्चुलामा बाढीपहिरो, एक जनाको मृत्यु, चार बेपत्ता
धनगढीः दार्चुलामा पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुहूँ गाउँपालिका वडा नम्बर १ बास्पालीका ६५ वर्षिय नरसिंह महरको मृत्यु भएको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार घरमाथिबाट खसेको पहिरोमा पुरिएर महरको मृत्यु भएको हो भने उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता छिन्।
यस्तै दुहूँ गाउँपालिका वडा नम्बर ५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षिय मनुवा डडाल बेपत्ता भएका छन्। बेपत्ता डडालको खोजी कार्य भइरहेको छ। जिल्लासँगको सडक सम्पर्क समेत टुटेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। उनले भने, ‘पुल नदीले बगाएको छ। सडक सञ्जाल तोडिएको छ। म यहि छु। अन्य ठाउँमा फोन सम्पर्क हुँदैछैन्। कुन–कुन ठाउँमा क्षति भएको छ बुझ्दैछु।’
पहिरोले दुहूँ गाउँपालिकाका तीन घरमा क्षति भएको छ भने एक दर्जन घरहरु जोखिम रहेका छन्। बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल लगाएतमा क्षति पुगेको छ। त्यस्तै वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजमगड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्कीलाई बगाएको हो । कार्की दाजुभाइले पसल सञ्चालन गर्दै आएका थिए ।