धनगढीका रानाः बीमा कम्पनीको जागीर छाडेर साबुन उद्योगका मालिक
धनगढी: धनगढीका उद्यमी पदम रानासँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
लामो समय जागीर गर्नुभयो। जागिरे जिवनको अनुभुतीको बारेमा जानकारी गराई दिनुहोस् न ।
म गाउँबाट केही व्यावसाय गर्छु भनेर धनगढी आएको थिए। ५० हजार लिएर धनगढीमा व्यावसाय गर्दागर्दै एक जना मेरो शिक्षकले बीमा कम्पनी एलआइसीको तालिम चलिरहेको त्यहाँ भाग लिएको थिए। पछी उहाँको सम्पर्कबाट जागिरको लागि एउटा अफर आयो। पहिल्यै सरकारी जागीर (गाउँ विकास समितिमा) छोडेर आएको मैले फेरि जागीर सुरु गरेको थिए। ‘एलआइसी बहुराष्ट्रिय कम्पनी हो। यसमा तपाईंले गर्न सक्नुभयो भने राम्रो हुन्छ’ भन्ने किसिमको कुराकानी त्यस कम्पनीका तत्कालीन जिएम सरले भन्नुभयो। उहाँको उत्प्रेरणाले मलाई यहाँसम्म ल्यायो।
काठमाडौं पहिलोचोटी अन्तरवार्ताको लागि गएको थिए। त्योभन्दा पहिला म काठमाडौं समेत गएको थिएन। यसरी म एलआइसीसँग जोडिन पुगे। त्यो संस्थाले मलाई धेरै कुरा सिकाएको छ। कसरी सिस्टममा काम गर्ने लगायतका कुरा त्यहीबाट सिकेको छु। त्यही सिकेका कुरा म जीवनमा लागू गरिरहेको छु भने व्यवसायमा पनि लागू गर्ने छु। जागीर मेरो रहरभन्दा पनि बाध्यता थियो। लामो समय जागीर गरे पनि कुनै न कुनै समय व्यवसाय सुरु गर्छु भन्ने थियो। एउटा समयको पर्खाइ थियो जुन पूरा भएको छ। ६ महिना पहिला मैले राजिनामा दिए। र आफ्नो व्यवसाय सुरु गरिसकेको छु।
पचढकी उद्योग सञ्चालनमा ल्याउनुभएको छ। साबुन उत्पादन गर्ने क्षेत्रमा मात्रै प्रवेश गर्नुको कुनै त्यस्तो विशेष कारण ?
केही गर्दा पनि उत्प्रेरणाको लागि घटना घटेको हुन्छ। मेरो जीवनको एउटा घटना सुनाउन चाहन्छु। हामी ५ कक्षामा पढ्दा अंग्रेजी पढाउनको लागि एक जना भारतीय शिक्षक आउनुभएको थियो। उहाँले पहिलो कक्षा लिँदा सबैलाई उठाए र सबैलाई आफ्नो नाम र बुबाको पेशा भन्नको लागि भन्नुभयो। मेरो परिचय त हलो जोत्ने बाहेक अरु त केही थिएन तर मेरो कक्षामा एकजना केटि साथी हुनुहुन्थ्यो। उहाँले आफ्नो नामसँगै बुबाको पेशा भन्दा आफ्नो बुवाको चप्पलको फ्याक्ट्री भएको भनिन्। मलाई अझै पनि याद छ चप्पलको ब्रान्डको नाम लालिगुँरास थियो। त्यो बेला नयाँ चप्पल किन्ने हैसियत पनि थिएन। चप्पल चुडियो भने आगोले वेल्डिङ गरेर लगाइन्थ्यो।
५ कक्षामा पढ्दादेखि नै एउटा ब्रान्ड बनाउने भन्ने सपना थियो। साबुन नै उत्पादन गर्छु भन्ने नभए पनि म जेसुकैको होस् ब्रान्ड बनाउछु भन्ने थियो। र, साबुन उत्पादन गर्नुमा त दैनिक उपभोग्य बस्तु भनेर उत्पादन गर्ने सोचेको हुँ। बिदेशबाट पनि हामी कच्चा पदार्थ पठाए साबुन आयात गर्छौ। यो त हामीले स्थानीय स्तरमा नै उत्पादन गर्न सक्छौ भन्ने लाग्यो। यसको लागि भारतका विभिन्न ठाउँमा गएर अध्ययन पनि गरे जसले गर्दा यो सानो स्केलबाट पनि गर्न सकिन्छ लाग्यो। नयाँ साथीहरूलाई पनि ठुलोठुलो पूँजी भएका कम्पनीहरुलाई हेरेर न गर्ने भन्ने सोचमा न पुग्नुहोस। सानोबाट सुरु गर्न सकिँदैन भन्ने हुँदैन प्रयास गर्नुपर्छ। हामीसँग जे स्रोत साधन छ त्यसको प्रयोग गरेर काम चाहिँ गर्नुपर्छ।
पचढकी सोप इण्डष्ट्रीज प्रालिलाई अगाडि बढाउन कस्तो अठोट निर्माण गर्नुभएको छ ?
एक कार्यक्रमका बीच उद्घाटन भइसकेको छ। र उत्पादन सुरु पनि भइसकेको छ। हाम्रो उत्पादन पनि बजारमा आउने क्रममा छ। मैले यो इण्डस्ट्रीजलाई अगाडि बढाउन जुन मिशन र भिजन तयार पारे यो भनेको अरुले जे उत्पादन गरिरहेका छन्। त्यसलाई कपि गरेर बजारमा ल्याउने भन्ने होइन। मैले अध्ययन गर्दा जे बजारमा छैन त्यो मात्रै ल्याउने प्रयास गरेको छु। जसको कमी छ हाम्रो बजारमा त्यसलाई ल्याउने प्रयास गरेको छु। जस्तो वासिङ्ग पाउडरको रुपमा त बजारमा छ मैले त्यसलाई आयुर्वेदिक रुपमा ल्याएको छु। साबुनको कुरा गर्दा त्यसमा पनि एनिमल फ्याट्स न भएको शुद्ध शाकाहारी साबुन ल्याउने प्रयास गरिरहेको छु। अझ परम्परा नै बदलिने गरि साबुन र सोडा बाहेक लिक्युड (तरल पदार्थ) ले पनि कपाल धुन सकिन्छ भनेर नयाँ बस्तु बजारमा ल्याउदै छौँ।
बजारमा तपाईंले आफ्नो लागि देखेको चुनौती के हो ?
चिया खाने गरि धेरै उद्यमी साथीहरूसँग बसे। विभिन्न जानकारीहरु प्राप्त गरे। सल्लाह सुझाव पनि लिए। जसले मलाई पक्कै पनि भोलि काम गर्न सहज हुनेछ। एउटा समस्या बजारमा के देखे भने उधारो लेनदेन। जति साथीहरूकोमा म गए उहाँहरुको गल्लामा स्टिल चेकहरु भेटिए। यसबाट सबै दिक्क छन्। एक लाखको क्षमता छ, एकलाख रुपैयाँ छ भने १० लाखको कारोबार किन गर्ने ? मसँग जति पूँजी छ त्यतिको काम गरे त भयो नि। एकले अर्कोलाई फसाएको छ। सबैकोमा स्टिल चेक मात्रै छ। मैले यो कुरालाई थोरै चुनौतीको रुपमा लिएको छु। हुनसक्छ म फरक परिवेशबाट आएर यस्तो लागेको हेर्दै जाँउ।