सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘सोलम्याक्स ग्रुप’को नाममा डलरको प्रलोभन देखाएर ठगी धन्दा

२०७८ भदौ ८, ०६:५८ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कानूनले अवैध मानेको नेटवर्किङ धन्दा गर्नेहरुको बिगबिगी सुदूरपश्चिममा पनि देखिन थालेको छ। छोटो समयमै राम्रो आम्दानी गर्न सकिने र यो व्यवसायमा अरुलाई पनि जोडे कमिशन पाउने प्रलोभन देखाउँदै नेटवर्किङ व्यवसाय गर्नेहरु सक्रिय हुन थालेका छन्।

अहिले यस्तो ठगी धन्दा अनलाइन र विभिन्न सामाजिक सञ्जालमार्फत् हुँदै आएको छ। शेयर कारोवारको नाममा लण्डनको युकेबाट सञ्चालित भनिएको सोलम्याक्स नामक ग्रपको माध्यमबाट धनगढी, महेन्द्रनगर, बेलौरी हुँदै प्रदेशभर डलरको प्रलोभन देखाउँदै अवैध असुली एक वर्षदेखि हुँदै आएको खुलेको छ। 

डलरको प्रलोभन देखाउँदै गाउँगाउँमा सोलम्याक्स नामक ग्रुपका प्रतिनिधिहरु पुग्न थालेका छन्। हुलाक सेवा कार्यालय पुनर्वासमा कार्यरत हिरामाया तामाङले पनि डलर कमाउन सकिने बताइएपछि २५० डलर लगानी गरेको बताइन्। ‘धनगढीमा ४० जना सोलम्याक्समा आवद्ध छन्, अन्तर्राष्ट्रिय शेयर मार्केट भएकाले आम्दानी डलरमा हुने भएपछि सुरुमा २५० डलर लगानी गरेकी हुँ’ उनले भनिन्।

अवैध नेटवर्किङ व्यवसायको माध्यमबाट सोलम्याक्स नामक ग्रुपले सबैभन्दा बढी धनगढीबाट रकम असुल गरेको छ। आम्दानी गर्नका लागि सुरुमा केही लगानी गर्नुपर्ने भन्दै पैसा माग्ने र पैसा उठाइसकेपछि ती व्यक्तिहरु फरार हुने गरेको सरोकारवाला बताउँछन्। 

गैरकानूनी रुपले अनलाइन माध्यमको समेत प्रयोग गरेर नेटवर्किङ शैलीको व्यवसाय गरी देश र देश बाहिर रहेका नेपालीहरुलाई आवद्ध गराएर सोलम्याक्सले ठग्दै आएको बताइएको छ। 

नेपालमा यो कम्पनीको कुनै सम्पर्क कार्यालय समेत छैन। छोटो समयमा डलर कमाउने पिरामिड शैलीको उपाय बताउँदै सोलम्याक्स गु्रपका प्रकाश श्रेष्ठले ५ सय डलर लगानी गरे तुरुन्तै ५० डलर खातामा आउने र १० प्रतिशत बोनबापत प्राप्त हुने बताउँछन्। ‘१८६ देशमा टेनवर्क छ। नेपालमा मात्र ३ लाख भन्दा बढी ग्रुपमा आवद्ध भएर लगानी गरिसकेका छन्’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थामा पैसा राखेर केही हुँदैन। सोलम्याक्सले लगानीभन्दा बढी सेवासुविधा दिने भएकाले ग्रुपप्रति आकर्षण एकदमै बढ्दो क्रममा छ।’

वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ तथा नियमावली २०७६ ले नेटवर्किङ शैलीको व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ। त्यस्तै, इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरण सम्बन्धी व्यवसाय गर्न, वस्तुको खरिद बिक्री गरी वा नगरी सदस्य बनाई वा बिक्रेता वितरणमार्फत शूल्कमात्र लिनेगरी पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय नेटवर्किङ गर्न नपाउने व्यवस्था छ। 

गैरकानुनीरुपले अनलाइन माध्यमको समेत प्रयोग गरी नेटवर्किङ शैलीको व्यवसाय गरी सोलम्याक्सले सन २०१७ देखि यस्तो अवैध धन्दा अपनाउँदै आएको छ। गैरकानुनी रुपमा रकम असुल गरी सर्वसाधारणलाई बिचल्लीमा पर्ने गरी ठाउँ–ठाउँमा सोलम्याक्स ग्रपका प्रतिनिधि समेत परिचालन गरिएको छ। 

सोलम्याक्सकै अर्का प्रतिनिधि शिवराज कार्कीले नेपालमा यसको कुनै कार्यालय नभएको बताए। ‘यसका छुट्टाछुट्टै गु्रप भएकाले जुन गु्रपमा आवद्ध भएको त्यही ग्रुपमा पैसा जम्मा गरेर डलर कमाउन सकिन्छ’ उनले भने, ‘आफुसँग भएको पूँजी अनुसारको प्याकेज खरिद गरेर आम्दानी बढाउन सकिन्छ।’

डलर कमाउन सकिने प्रलोभन देखाएर संघीय राजधानी काठमाडौं हुँदै सोलम्याक्स नामक गु्रपले सुदूरपश्चिममा समेत कानुनको धज्जी उडाउँदै ठगी धन्दा गर्दै आएको पाइएको छ।

नेटवर्किङ भनेको एउटाले अर्को सदस्य बनाउने हो। दशकअघि नेटवर्किङ कम्पनीहरूले रकम उठाएर सदस्य बनाउँदै ठगी गरेका थिए। यस्ता नेटवर्किङ व्यवसाय गर्ने वा गराउनेलाई १० लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ।
 

कमेन्ट लोड गर्नुस