धनगढीको मुख्य सडकको बिजोग, आवतजावतमा सास्ती
धनगढी: प्रदेश राजधानी धनगढीको मुख्य सडकमा दर्जनौ खाल्टाखुल्टी परेपछि आवतजावतमा सास्ती बढेको छ।
मुख्य सडकमा दर्जनौ खाल्टा र शाखा सडक हिलाम्य भएपछि धनगढीमा आउजाउ गर्नै मुस्किल हुन थालेको छ। झण्डै करोडको लागतमा निर्माण गरिएको मुख्य सडकको कैलालीपुलदेखि जिल्ला प्रहरी कार्यालय जोड्ने खण्डको कालोपत्रे साउने झरीले बगाएकोमा चौराहदेखि कैलालीपुल सम्म गरिएको मर्मत पनि ६ महिना टिकेन।
झण्डै करोडको लागतमा कैलाली पुलदेखि जिल्ला प्रहरी कार्यालय जोड्ने सडक खण्ड कालोपत्रे भएको थियो। यस्तै उपमहानगरपालिकाले ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको एक दशमलव ३८ किलोमिटर सडक गत वर्षको चैतमा मर्मत गरेको थियो। दुई लाख ५० हजार खर्चेर मर्मत गरेको भनिएको सडकमा अहिले दर्जनौ स्थानमा खाल्टाखुल्टी छन्।
धनगढीका रिक्सा चालक सिरुप्रसाद चौधरीले बर्सातको समयमा सबैभन्दा बढी दुःख हुने गरेको बताए। उनले भने, ‘रिक्सा पल्टिने डर हुन्छ। पानी आएपछि जलमग्न हुँदा बराबर देखिन्छ। खाल्डो हो की, बाटो थाहा हुँदैन्।’ उपमहानगपालिकाले खाल्टा टालेको ६ महिना नहुँदै पुनः खाल्टा परेको भन्दै उनीहरु निराश भएका छन। चौधरीले भने, ‘चैत, वैशाखमा खाल्टा टालिएका थिए। तर फेरि खाल्टा परेका छन्।’
एशियाली विकास बैँकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तरगत चौराहदेखि कैलालीपुलसमम सडक निर्माण हुने छ। तर धनगढीका शाखा सडकको काम पूरा भएमात्र सो सडकमा काम सुरु गरिने जनाइएको छ।उपमहानगरले खाल्टा पुर्न बर्सेनि गर्दै आएको लगानी भने बालुवामा पानी जस्तै हुँदै आएको छ।
यता धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले सडक मर्मतका लागि प्रत्येक वर्ष बजेट आउने भएकाले पुनः मर्मत गर्ने बताए। उनले भने ‘क्षेत्रीय शहरी विकासले सडक निर्माण गर्दै छ। तर समय लाग्ने देखिन्छ। एक संस्थालाई दिएको सडकमा अर्काे संस्थाले हात हाल्दैन। तर पनि जनतालाई भएको दुःखका कारण हामी खाल्टा टाल्छौ।’