‘अबको २ वर्षभित्र मालपोत कार्यालय पेपरलेस, क्यासलेस र फेसलेस हुन्छ’
धनगढी: मालपोत कार्यालय कैलालीका कार्यालय प्रमुख सुरेन्द केसीसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईको बाल्यकाल र जागिरे जीवन कहाँ र कसरी बित्यो ?
मेरो जन्म विस २०२२ साल साउन ३० गते डोटीको सिलगढी नपा वडा नम्बर ३ मा भएको हो। हाइस्कुलसम्म पद्म पब्लीक माध्यमिक विद्यालयमा पढाई गरेको थिए। पछि पढाई सँगसँगै जागिर पनि थियो र इन्टर डोटी क्याम्पसबाट गरको थिए। २०४७ सालमा क्षेत्रीय सिँचाई निर्देशानालय धनगढीमा मेरो सरुवा भयो। त्यतिखेर भर्खरै वाणिज्य शास्त्रमा स्नातक तह खुलेको थियो। र, बिहानीको समयमा कलेज र दिउँसो अफिस गर्ने गर्थे। यसरी विस २०४३ मा खरिदारको तह पास गरेर जागिर सुरु गरेको अहिले झण्डै ३६ वर्ष जति समयावधि भइसक्यो। अझ सेवा गर्ने अवधि २ वर्षभन्दा थोरै बेसी छ।
कार्यालयहरुबाट सेवा लिँदा एक किसिमको अपेक्षा हुने गर्छ। तपाईको पनि सेवाग्राही भएर कुनै अन्य कार्यालयहरुमा जाँदा केही न केही अपेक्षा राख्नुहुन्छ होला। आफुले सेवा दिँदा सेवाग्राहीलाई महशुस गरेर उनीहरुको अपेक्षित किसिमको सेवा दिने प्रयत्न गर्नुहुन्छ ?
ममा त यो सोच कहिलै आएन तर धेरै कर्मचारीले पहिला आफुलाई मालिक जस्तो ठान्थे र सेवाग्राहीलाई तुच्छ तरिकाले हेर्थे। अहिले भने यसमा परिवर्तन आएको छ। मेरो सवालमा पनि मैले आफुलाई जनताको नौकर नै हँु। उहाँहरुले तिरेको पैसाबाट तलब खाएको छुँ र सेवा गर्नुपर्छ भन्ने भावना सिर्जना गरेको छुँ।
कार्यालयमा सेवाग्राही आउँदा मालिकको महशुस गरेको हुनुपर्छ र कर्मचारीले सेवा ग्राहीको सेवाको लागि यहाँ छु, मेरो पाथमिकता जहिले पनि सेवाग्राही हुन् सम्झेर कार्यसम्पादन गर्नुपर्छ भन्ने आग्रह पनि हो। हाम्रो कार्यालयमा यसको प्रयासमा गर्नुभएको प्रश्नमा म कार्यालयमा प्रमुख भएर आउदा खेरी नै सबै कर्मचारिलाई बसाएर एउटै कुरा भनेको थिए कि पहिला के गर्नुहुन्थो त्यो म कोट्याउन चाहदैन तर अब तपाईहरुको सोच पूर्णरुपमा बदलिनुपर्छ।
कुन सेवा ग्राहीको स्तर के, को कताको आदि कुरा कहिल्यै पनि सेवा गर्दाका प्रभाव पार्ने तत्व रहने छैनन्। मात्रै प्रभाकारी सेवा तपाई हाम्रो लक्ष्य हो। यो कुरा हरेक समयमा भन्दै आइरहेको पनि छु। यसले फरक पनि पारेको छ। कहिलेकाहिँ सेवाग्राहीलाई र लेखापढी व्यवसायीलाई बुझ्दा मालपोतमा धेरै परिवर्तन भएको कुरा बताउँछन्। म आफैलाई पनि यो प्रयासले केही हद्सम्म सफलता पाएको महशुस गरेको छु।
मालपोत कार्यालय कतिको प्रविधिमैत्री छ त ?
अबको दुई वर्षभित्र कार्यालयहरु पेपरलेस, क्यासलेस र फेसलेस हुनछन्। यी तिन कुरा गर्ने तयारिमा विभाग छ। पेपरलेस हुन केही बाँकी छ। क्यासलेस भइसक्यो, पहिला जस्तो सबै कुराको लागि कार्यालयमा आएर मात्रै गर्नुपर्ने अवस्था अब केही समयपछि रहदैन। केही स्थानीय तहमै सम्पादन हुन्छन् त केही वेबसाइटबाट गर्न सकिनेछन्। पूर्ण प्रविधिको प्रयोग नभएको भए पनि हुने तयारीमा छ।
गत आर्थिक वर्षमा कार्यालयको कार्यसम्पादन, अपेक्षित प्राप्त भयो त ?
राजस्वप्राप्तिको आधारमा हामीले लक्ष्य प्राप्ती गरेका छौँ। सबै शिर्षकको लगाएर ९४ करोड ६९ लाख ८१ हजार ७ सय ५३ उठेको छ। यसमा लाभ कर सिधै संघमा जान्छ भने अरु ६० प्रतिशत जुन स्थानीय तहबाट उठेको छ त्यही स्थानीय तहमा जान्छ। र, ४० प्रतिशत प्रदेश सरकारमा जान्छ। चालु आर्थिक वर्षमा त एक अर्ब पार नै उठ्छ होला।