आत्महत्या गरे ६० हजार वर्षसम्म नर्कको बास !
-जि.एस.भण्डारी
व्यक्तिले जानीबुझी विभिन्न साधनको स्वेच्छिक प्रयोग गरेर आफ्नो जीवन अन्त्य गर्नु नै आत्महत्या हो। सन् १६४२ मा सर थोमस ब्राउन्डेडले आफ्नो रिलिजीयो नामक कृतिमा ‘सुसाइड’ शब्दको प्रयोग गरेका हुन्। मृत्यु स्वभाविक हो। सत्य पनि। मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ। केही गर्न चाहन्छ। मान्छेलाई आफ्नो जीवनप्रति त्यती प्रेम छ। लोभ छ। मानव जीवन बहुत दुर्लभ जीवन हो। के थाहा फेरि यो जीवन पाइएला नपाइएला। यही जीवन पाइएको बेला सम्यक जीवन जीउन सके आफ्नो अर्को जीवन पनि सफल हुने निश्चित नै छ।
मानव भएर जन्मेपश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ। मानव जीवन पक्कै पनि संसारकै सबैभन्दा राम्रो र रमाइलो हुन्छ नै। सुख दुःख त भइनै हाल्छ तर अहिले बालकदेखि बृद्धसम्म आफुले आफैँलाई मार्न चाहनेको संख्या बढ्दो क्रममा छ। आत्महत्या जस्तो तुच्छ र घटिया काम पनि मान्छे किन गर्न पुग्छ त ? आत्महत्या सम्बन्धित समाजले बुझेजस्तै कायरताको उपज हो कि कुनै रोग वा दुर्घटना ? किन यसरी प्रेरित भएका छन् मान्छे आत्महत्याका लागि ? पछिल्लो समयमा दिनानुदिन बढीरहेको आत्महत्या के सबैका लागि रोजाइ नै हो त ? के आत्महत्या गर्नेहरु सबैले आफ्नो इच्छाले नै आत्महत्या गरिरहेका छन् त ? आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन किन बढीरहेको छ त ?
व्यक्तिमा तीब्र महत्वकांक्षा, योजनामा असफल, कुनै पनि कारणले समाजमा लाज सरमको महशुस गर्नु, आफुबाट भएका कतिपय कुकर्म वा अनैतिक कर्मबाट पश्चाताप वा बेइज्जतको सामाना गर्नुपर्ने अवस्था, चिन्ता, फिक्री, दीर्घरोग, अन्तरसम्बन्धमा आँच, प्रेममा मृत्यु वा बिछोड, मानसिक असन्तुलन, बेरोजगार, टाट पल्टिँदाको पीडा, धोका, आरोप, जीवन र मृत्युसम्बन्धि मानसिक द्वन्द्व लगायत थुप्रै कारणबाट मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ। तर आत्महत्याको कारण उमेर अनुसार फरक देखिएको छ।
किशोरावस्थामा प्रेम, शिक्षा लगायत असफलताका कारण आत्महत्या गर्ने गरेको देखिन्छ। भने, ३० देखि ५० सम्मका व्यक्तिहरु घरव्यवहार, पारिवारिक किचलो, नपुंसकता,आर्थिक र सामाजिक कारणबाट समेत आत्महत्या गर्ने गरेका छन्। ५० भन्दा माथिका धेरै मान्छेहरुमा लामो तर असफल जीवनबाट असन्तुष्टि, पछिल्ला दुई पुस्ताबिचको बेमेल, चाहेजस्तो आर्थिक सम्पन्नता हासिल हुन नसक्नु लगायतका कारणहरु देखिने गरेका छन्।
तर युवा अवस्थामा अहिले प्रायः प्रेम जीवन असफल हुनु आत्महत्याको एउटा प्रमुख कारण बनेको छ। प्रेम र विवाहसम्बन्धी निर्णय लिन युवायुवती स्वतन्त्र हुनुपर्ने हो। तर, समाज र परिवारले उनीहरूको स्वतन्त्रतामा अंकुश लगाइदिएको छ। जात अथवा धर्म नमिलेका कारण प्रेम सम्बन्ध तोड्न हजारौँ युवायुवती बाध्य छन्। आत्महत्या रोज्दछन्। समाजले यो भुल गरेको हो। यस्तै जातीय र वर्गीय विभेद गर्दा समाजले वर्षेनी आफ्ना सन्तती गुमाइरहेको छ। जबसम्म जातीय र वर्गीय विभेद हट्दैन तबसम्म आत्महत्या जस्तो सामाजिक रोग हटाउन पनि गाह्रो पर्नेछ।
विछोडको विषादबाट मुक्ति पाउन तीमध्ये केहीले आत्महत्याको बाटो रोजिरहेका छन्। के जात अथवा धर्मको तरवार चलाएर व्यक्तिको प्रेम सम्बन्ध छिनाल्नेलाई निर्दोष करार गरेर आत्महत्याको बाटो रोजेका युवायुवतीलाई मात्र एकोहोरो दोषी देखाउनु न्यायसंगत हुन्छ ? कसैले प्रेममा धोका खाएको छ भने त्यसलाई झन् पीडा हुने खालका कुरा होइन बाँच्न र संघर्ष गर्न लागि, प्रोत्साहन र हौसला दिने खालका सुझाव र परामर्श दिनुपर्दछ र पीडितले पनि त्यसलाई जीवनको एक क्षण सम्झनु पर्दछ। नेपाली उखान छ ‘खुट्टा भए जुत्ता कति कति’ भनि आत्मविश्वास बढाउनु पर्दछ।
प्रायः सबै धर्मले आत्महत्यालाई निरुत्साहित गर्छन्। उदाहरणका लागि हिन्दू धर्मग्रन्थ परासरस्मृतिमा झुन्डिएर आत्महत्या गर्ने महिलापुरुष दुवैले ६० हजार वर्षसम्म नर्कमा बस्नुपर्नेछ भनी उल्लेख गरिएको व्यवस्थालाई लिन सकिन्छ। धर्मसँगै सामाजिक मूल्यमान्यताले पनि आत्महत्यालाई गलत ठहर गर्दै निरुत्साहित गर्छन्। न्यायको प्रचलित सिद्धान्तले पनि आत्महत्यालाई गलत करार गर्छ।
विसं २०७५ देखि लागुभएको मुलुकी अपराधसंहिता परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८५ मा आत्महत्या गर्न बाध्य पारेको कसुरमा सजायको व्यवस्था गरिएको छ। उक्त दफा अनुसार कसैलाई आत्महत्या गर्न बाध्य पारेमा पाँच वर्षसम्म कैद र पचासहजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। उक्त परिच्छेदले कल्पना गरेका कसुरबाट कसैको जीउ, ज्यान, वा सम्पतिमा हानी नोक्सानी भएको रहेछ भने कसुरदार व्यक्तिबाट पीडित वा पीडित नभए निजको हकवालालाई क्षतिपूर्ति भराइने व्यवस्थासमेत रहको छ तर आत्महत्या रोक्ने प्रमुख उपाय कानुन मात्र होइन।
तर कतिपय आत्महत्या पारिवारिक, सामाजिक हिंसा र दुव्र्यवहारका कारण हुने गरेकाले कानुन आवश्यक परेको हो। दुरुत्साहन गर्नेलाई कारबाही गर्दैमा मरेको मान्छे फर्किँदैन। यसरी जीवन बर्बाद गर्नेहरुप्रति न त सरकार न त सामाजिक परिवेश संवेदनशील भएको देखिन्छ। सरकारसँग यसलाई महत्व दिने कुनै नीति छैन। कानुनमा दण्डनीय अपराधको रुपमा विकास गरेपनि यसलाई रोक्नको लागि नीतिगत पहल गरेको देखिँदैन।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा प्रतिवर्ष करिब १० लाख मानिस आत्महत्याका कारण मर्छन् जसअनुसार आत्महत्या दरप्रति लाखमा १६ हुन्छ। यसको मतलब प्रत्येक ४० सेकेन्डमा १ व्यक्ति आत्महत्याले मर्छ। संसारमा १५ देखि ४४ वर्ष उमेर समूह बीचका मानिसमा मृत्युको तीन प्रमुख कारणमध्ये आत्महत्या एक हो।
नेपालमा आत्महत्याकै तहमा विस्तृत अध्ययनहरु त खासै भएका नै छैनन् तर विगत केही महिना यताका प्रहरी तथ्यांकहरुका आधारमा विश्लेषण गर्दा दैनिक सरदर १६–२० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभरमा २०७५ देखि ०७८ जेठसम्म ३५ महिनामा १८ हजार ३ सय १९ वटा आत्महत्याका घटना भएका छन्। नेपालमा गत वर्ष कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ देखि असार १३ सम्मको लकडाउनको अवधिमा मात्रै कम्तीमा १ हजार ६ सय ४७ व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाउँछ।
यसरी आत्महत्या बढ्नुको कारण नयाँ रोग भएर मानिस डराए, आर्थिक उपार्जन, व्यापार बन्द भयो। भविष्यको अन्योलले निराशापन, दैनिक जीविकामा असहजताले गर्दा डिप्रेसन बढ्यो, बेड र अक्सिजन पाइएन, आफन्त, साथीभाई बचाउन नसकेको आत्मग्लानिले आत्महत्याको अवस्थासम्म पुर्यायो। कोरोनाकालमा मान्छे घरैमा थुनिनुपर्ने अवस्था आयो, बेरोजगारी र आर्थिक अभाव बढ्यो।
घरेलु हिंसादेखि जघन्य अपराध पनि भए, सहन नसकेर धेरैले आत्महत्याको बाटो रोज्न बाध्य भए। कोरोना महामारीको दोस्रो लहर झन् कडा भयो। पहिलो लहरबाट सुरक्षा सवालमा जुन सिकाइ हुनुपथ्र्याे, भएन। राज्यको गैरजिम्मेवारीपना झन् बढ्यो। पहिलो चरणको महामारीले शिथिल बनाएको थियो। दोस्रो लहरमा संक्रमितको भटाभट मृत्यु हुन थाल्यो।
यता सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७४/०७५ मा चार सय ९९ जनाले आत्महत्या गरेको तथ्याङ्क छ। भने, ०७५/०७६ मा चार सय ९० र ०७६/०७७ मा आत्महत्या गर्नेको संख्या ५४४ रहेको छ। ०७५/०७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ। त्यसैगरी २०७७/०७८ आइपुग्दा झन् ह्वात्तै बढेर आत्महत्या गर्नेको संख्या झन्डै ६८० पुगेको तथ्यांकले देखाउछ।
अर्को कुरा के छ भने शिक्षित व्यक्तिले नै बढी आत्महत्या गर्ने गरेको तथ्याङ्क छ। यसको अर्थ पढेलेखेका व्यक्तिले नै आत्महत्या बढी गर्ने सम्भावना हुन्छ। आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिएपनि देशभरका जनताहरुको लागि त्यो पर्याप्त छैन। राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घर परिवारका सदस्यहरुवीच एकापसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धी हासिल गर्न सकेको छैन।
आत्महत्याको अन्तिम निर्णय लिनुपूर्व व्यक्तिले कैयन संकेत छाड्ने गर्छन्। समयमै परिवारका सदस्यले वा नजिकका साथीभाइले त्यसलाई बुझेर गम्भीर पहल गर्ने हो भने आत्महत्या टार्न सकिन्छ। प्रायः आत्महत्यामा आत्महत्याको स्पष्ट संकेतहरू हुन्छन् जसले उनीहरूको मनसाय दर्शाउँछ। कसैले आत्महानीको डर देखाँउछन् भने त्यसलाई गम्भीरताका साथ लिनुपर्छ। प्रायः आत्महत्या गर्ने प्रयासहरू विरोधाभासपूर्ण हुन्छन् र जानाजानी मर्दैनन्। थोरै आत्महत्या मात्र कुनै चेतावनी वा संकेतहरु बिना पनि हुन सक्छन्।
विशेषगरी हामीले यसमा ध्यानदिनु पर्ने कुरा के हो भने, आत्महत्या गर्ने कुनै पनि व्यक्तिले प्रायः सुरुमा केही न केही लक्षणहरु देखाउँछ। ती लक्षणलाई परिवार, समाज तथा साथीभाईले पत्ता लगाउन सक्यो, देखिएका लक्षणलाई गम्भीरतापूर्व लिएर हेरिदिएको खण्डमा आत्महत्याको संख्या घटाउन सकिन्छ। यसरी देखिने लक्षणहरुमा पूर्व योजना पनि एक हो। आत्महत्या गर्ने मानिसको पूर्व योजना हुन्छ। कतिपयले कसरी आत्महत्या गर्ने, कहिले गर्ने ? कुन विधिबाट गर्ने भन्ने योजना बनाएका हुन्छन्।
यसको जल्दो बल्दो उदाहरण हो धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया एक किशोरी। उनले केहि दिन अगाडि आफ्नो टिकटक आइडीमा एउटा भिडियो अपलोड गरिन् जसमा आवाज सुनिदै थियो ‘साँच्चै आत्महत्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी। एक मुठ्ठी सास छ त्यही नि त्याग्न मन लाग्छ। यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।’ उनले टिकटकमा भिडियो अपलोड गरेको डेढ घण्टामै देहत्याग गरिन्। यदि तर उक्त भिडियो हेर्ने मध्ये डेढ घण्टाभित्र पनि कसैले पनि भिडियोलाई गम्भीरतापूर्व लिएर उनीमाथी निगरानी बढाइदिएको भए आज उनी पक्कै पनि हामी सामु हुन्थिन होला।
त्यसैले यदि हामीले यसरी आत्महत्या गर्न लागेका मानिसलाई पहिचान गर्न, चिन्न सक्यौं भने पहिले नै कुनै काउन्सेलिङ वा कुनै उपचारको माध्यमबाट रोक्न सक्यौं भने आत्महत्यालाई कम गर्न सक्छौं। अर्को कुरा हामी कसरी सहयोग गर्न सक्छौँ भन्ने कुरामा जान्नुपर्यो। त्यो व्यक्तिलाई समाजमा घुलमिल गर्ने, गफ गर्ने, समस्या तथा कुराकानी साटासाट गर्ने, उसको मनका कुरालाई बाहिर ल्याउन कोसिस गर्ने गर्यौं भने पक्कै पनि केही न केही फाइदा हुन्छ। र, त्यो कुरा बाहिर ल्याउन चाहिँ गाह्रो छ। उनीहरु भन्न मान्दैनन्। तर, हामीले कोसिस जारी राख्नुपर्छ। त्यो गर्न सक्दा केही हदसम्म आत्महत्या कम गर्न सहयोग पुग्छ।
विभिन्न अध्ययनले मनिसहरुले आत्महत्या गर्नुपुर्व के–कस्तो लक्षणहरु देखाउँछन् भन्ने कुरा पत्ता लागेको छ।
केही त्यस्ता लक्षणहरु:
१. अत्यन्त धेरै वा कम सुत्ने
२. धेरै चिन्तित वा उत्तेजित हुने
३. एकान्तमा बस्न रुचाउनु
४.सिथिल हुनु, एकाग्र हुन नसक्नु
५. मृत्युको बारेमा सोच्नु वा कुरा गरिरहनु
६. रक्सी वा अन्य लागुजन्य पदार्थको अत्यधिक सेवन
७. सामाजिक कार्यमा सहभागी हुन नचाहनु वा कोहिसंग बोल्न आवश्यक नठान्नु पनि आत्महत्याको लक्षण रहेको छ।
यस्तो अवस्थामा तपाई हामी के गर्न सक्छौं त
१. सहयोगीको भूमिका
–कुनै व्यक्तिले आत्महत्या गर्नुभन्दा कोहीले कुनै न कुनै संकेत गरेको हुन्छ। त्यसमा सचेत हुने र वेइजत नगरी गोव्य परामर्श, सुझाव र होसला र सचेतना दिने कार्यहरू गर्नु पर्दछ। डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ। आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दा महत्वपूर्ण हुन्छ।
–आत्महत्याको बारेमा विचार गरिरहेको व्यक्ति कहिले जिउने र कहिले मर्ने कारण अन्त्यसम्म पनि खोजिरहेको हुन्छ। कतिपय अवस्थामा त उसले परालको त्यान्द्रो बराबर पनि बाँच्ने कारण भेटिरहेको हुँदैन। बाँच्ने कारण खोज्दा उसले बाबुआमा तथा श्रीमानश्रीमती, छोराछोरी सम्झिन्छ, तर उसले क्रमिक रुपले यो पनि सोच्न सक्छ कि ऊ सबैको लागि बोझ हो र उसको मृत्यु पश्चात सबैलाई त्यस्तो बोझबाट छुटकारा मिल्नेछ।
यदि तपाईंले आफ्नो साथीभाइको व्यक्तित्वमा परिवर्तन देख्नुभयो, ऊ आजभोली कतै हराएको जस्तो, बढी नै टोलाएको जस्तो पाउनुभयो भने, उसले केही भन्न खोजको जस्तो गरेको छ भने, तपाईं पनि आफूलाई एक कदम अगाडि बढाउनुहोस। जस्तै, तपाई/तिमीलाई ‘सन्चै छ ?’ अनि औपचारिकताबाट अघि बढ्नुहोस र सोध्नुहोस– के तिमी साच्चै नै सन्चै छौ त ? उसलाई केही भएको रहेनछ, या क्षणिक चिन्ता रहेछ भने त ठिकै छ तर होइन, निराशावादी सोचमा चुर्लुम्म डुबेर जीवनको कुनै अर्थ देख्न छाडेको रहेछ भने तपाईको मायालु प्रश्नले उसलाई आफ्नो मनको वह पोख्न सहायत गर्छ। सम्झनुहोस आत्महत्याबारे सोध्दैमा आत्महत्याको सम्भावना बढ्दैन। बरू यस प्रश्नले उक्त व्यक्तिलाई गुम्सिरहेको भावना बाहिर ल्याउन पाएर हलुका नै हुन्छ।
यदि आत्महत्याको सम्भावना तत्काल छ भने तुरुन्त आकस्मिक सेवातर्फ उसलाई लग्नुपछ। यदि विचार मात्रै छ, तर योजना छैन भने चाहि उसलाई उसको समस्या समाधानका बारेमा छलफल गर्न प्रेरित गर्नुपर्छ। उसको मनमा भएको आत्महत्या विरोधी सोचलाई बढाउनलाई सहायता गर्नुपर्दछ। तर मेरो यस लेखको सन्देश तपाईलाई तपाईको साथीको काउन्सिलर बन्न प्रेरित गर्नु मात्र होइन। उसको भाँचिएको मन बुझ्न खोज्नुस र उपयुक्त सहायता सुरू नहुन्जेल टेको भैइदिनुस भन्ने पनि हो।
२. आत्महत्या न्यूनीकरणमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमको भूमिका
आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ। आत्महत्याको घटना सम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा सनसनीखेज पार्ने भन्दा पनि चेतना बढाउने र आत्महत्यालाई निरुत्साहित गर्ने गरी प्रस्तुत गर्नुपर्छ। आत्महत्याका समाचारलाई प्राथमिकता दिएर व्यक्तिले कसरी आत्महत्या गर्यो भनेर विस्तृत घटना विवरण दिनुहुँदैन।
एउटा व्यक्तिले आत्महत्या गर्दा अरु २५ जनाले प्रयास गरेका हुन्छन् भनिन्छ। त्यसैगरी एउटा व्यक्तिले आत्महत्या गर्दा उसको परिवार छरछिमेक र इष्टमित्र गरी ८० जना पीडाबाट गुज्रिन्छन् भन्ने मान्यता छ। यसै कारण उनीहरुको पीडाप्रति सञ्चारमाध्यम र सामाजिक सञ्जाल पनि संवेदनशील हुनुपर्दछ।
र अन्त्यमा, यो अनमोल जिन्दगी प्राप्त छ। यो जन्म संयोग होइन, माता पिता , जन्मस्थान, समाज र देशका लागि केही न केही योगदान दिएर अनि प्राप्त आयू पूर्ण भोग गर्न हरेक मानिस ईच्छुक हुनु पर्दछ। तथापि कतिपयलाई जीवन बोझ बन्छ। तर संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ। मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो।
धैर्य गरियो भने एक दिन त्यो तुवालो फाँट्छ नै। जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ। जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ। गल्तीको प्रायश्चित गर्न सकिन्छ। तर आफ्नो अस्तित्व नै नाश भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन। आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ।
आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुँदाको परिणाम हो, जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भनेर मार्गदर्शन गर्न सकिन्छ। आजको परिस्थिति र घटनाले तनाव निम्त्याए पनि भोलिका दिन सुखद हुन्छ भनेर तपाई हामी सबै सर्वसाधारणमा सकारात्मक चिन्तन फैलाउन सके आत्महत्या केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ र आत्महत्या घटना न्यूनीकरणका लागि त्यसको कारण पहिचान गरी भौतिक विकासमा जस्तै मानसिक र सामाजिक विकासमा पनि ध्यान दिनु पर्दछ।
यदि तपाई मानसिक तनावबाट गुज्रिरहनुभएको छ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया यी हेल्पलाइनहरूमा सम्पर्क गर्नुहोस्। हेल्प हेल्प फर हेप्पिनेसको सम्पर्क नम्बर ९८६८४६२९७४ र ९८४०६०३५८३, त्यसैगरी चौबिसै घण्टा चल्ने र पैसा नलाग्ने सरकारी हेल्प लाइन नम्बर ११६६ र १६६००१०२००५ मा बिहान ८ देखि साँझ ६ बजेसम्म सम्पर्क गरि मनोसामाजिक परामर्शदाताहरूसँग कुराकानी गरी सहयोगको लागि अनुरोध गर्न सक्नुहुन्छ।
(लेखक भण्डारी सामाजिक संस्था हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम संयोजक हुन्)