सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी राजधानी तोकेको सुदूरपश्चिम सरकार धनगढीमा तला थप्दै

२०७८ साउन २६, ०७:०१ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको तला थप्नका लागि गत आर्थिक वर्षमा ५० लाख विनियोजन गरिएको थियो। यस्तै चमेना गृहको तला थप्न भन्दै थप २० लाख विनियोजन गरिएको थियो।

गत आर्थिक वर्ष २०७७/०७८ मा शहरी विकास तथा भवन कार्यालयले ठेक्का सम्झौतामार्फत तला थप गर्ने काम गरेकोमा त्यो काम अझै पूरा भएको छैन। उक्त कार्यालयले चालू आर्थिक वर्षमा समेत क्रमागत योजनामा समावेश गर्दै भवनको तला थप गर्ने योजनालाई निरन्तरता दिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्द्र स्वारले बताए।

‘मुख्यमन्त्री कार्यालय भवनको ५० लाखमा ३१ लाख खर्च भएको छ। चमेना गृहको २० लाखमा १९ लाख खर्च भएको छ’ उनले भने, ‘यो वर्षको फागुनसम्म क्रमागत योजनामा राखेका छौ। गत वर्ष ८ लाख मात्र मगाएका थियौ। रकम फिर्ता गयो, यो वर्ष फेरि चाहिने भएको छ।’

कैलालीको गोदावरीमा प्रदेश राजधानी स्थापना गर्ने निर्णय गरेको सुदूरपश्चिम सरकार यसरी धनगढीमै भौतिक संरचना निर्माण गर्न करोडौँ खर्चिरहेको छ। प्रदेशको स्थायी राजधानी गोदावरीमा भौतिक संरचना निर्माणको टुङ्गो लगाउन नसकेको सरकार अस्थायी  राजधानीका मन्त्रालयहरुमा करोडाै‌ खर्च गर्दै तला थप्न लागेको हो।

गोदावरीमा प्रदेश राजधानी निर्माणको अधिकार नभएको भन्दै तत्कालका लागि धनगढीमा भौतिक संरचनामा लगानी गर्दै आएको प्रदेश सरकारले बताएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको योजना शाखाका शाखा अधिकृत नरेन्द्र शाहले तत्कालका लागि ठाउँ थप गरिएको बताए। ‘राजधानी गोदावरीमा बन्ने कुनै टुङ्गो लागेको छैन। जग्गा प्राप्तिको काम पूरा भएको छैन’ उनले भने, ‘जग्गा प्राप्त भएपनि ४/५ वर्ष लाग्छ।’ उनका अनुसार प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गरेकोमा ठाउँ अभाव हुनेभएपछि संरचना निर्माण हुन थालेको हो। 

प्रदेश सभा सचिवालय, प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रि–फ्याब भवन निर्माण गरेकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय लगायतले समेत भौतिक संरचना निर्माणको काम प्रत्येक वर्ष गर्दै आएका छन्। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय बाहेक यातायात कार्यालय र सिप विकास कार्यालयमा समेत भौतिक संरचना निर्माण गरिएका छन्। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस