सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा राजस्व विभागको ७७ रोल स्टिकरसहित ५ जना पक्राउ, मदिरा उद्योग सिल

२०७८ साउन २६, १२:३५ खबर संवाददाता

धनगढी : कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ परेका छन्। आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिकाबाट ५ जनालाई पक्राउ गरिएको हो।

जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा, भारत बस्ने वर्ष १९ का संजित कुमार, वर्ष २० का रिङ्कु कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने वर्ष ४० का राजकुमार शाह, पर्सा विरगंज नगरपालिका १३ घन्टाघर बस्ने वर्ष ५५ का विजय गुप्ता र जिल्ला लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा भारत बस्ने वर्ष २२ का सुरेशकुमारलाई पक्राउ गरिएको हो। 

मोटरसाइकलमा सवार रहेका संजित कुमारलाई कैलालीको गौरीगंगा नगरपालिका वडा नं.७ स्थित तालबन्द सडकखण्डमा चेकजाँच गर्दा आन्तरिक राजस्व बिभाग लेखिएको ७७ रोल (२,८८,६७४ स्टिकर) फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उक्त स्टिकरका रोलहरुमध्ये १३ रोल स्टिकरमा एउटै सिरियल नम्बर भेटिएको थियो।

‘नंबर भएका स्टिकर पटकपटक दोहोरिएको पाइएको र उक्त स्टिकर जिल्ला कैलाली गौरीगंगा नगरपालिका वडा नं.७ मसुरियास्थित वेष्टर्न लिकर्स प्रा.लि.बाट ल्याएको खुलेको छ,’ उनले भने, ‘उनीहरु बस्ने कोठामा खानतलासी गर्दा छाप, स्ट्याम प्याड, पनि फेला परेको छ।’

आन्तरिक राजश्व कार्यालय धनगढीसंग समन्वय गर्दै प्रहरी टोलीले वेष्टर्न लिकर्स प्रालि (मदिरा उद्योग) सिल गरेको छ। पक्राउ परेका ५ जनासहित बरामद स्टिकर, छाप, स्ट्याम प्याड र मसीसमेत आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय धनगढी पठाइने प्रहरीलदे जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस