अख्तियारको कार्यालय कञ्चनपुरमा परे भ्रष्टाचारका ८ सय उजुरी
धनगढीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा भ्रष्टाचारका ८ सय मुद्दा दर्ता भएका छन्।
हरेक महिना कम्तिमा एक सयको संख्यामा भ्रष्टाचारका मुद्दा अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता हुँदै आएको पाइएको हो। सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट अनियिमतता विरुद्धका उजुरी दर्ता हुनेक्रम बढेको हो। विभिन्न माध्यमको प्रयोग गरेर सेवाग्राहीले धमाधम अख्तियारमा उजुरी दिन थालेका छन्।
सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्। कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख २१ गतेसम्म मात्र ५५ वटा उजुरी दर्ता भएका छन्। यस्ता उजुरी चैत महिनामा ८१ वटा दर्ता भएका थिए। फागुन र माघ महिनामा एक सय ४२ उजुरी दर्ता भएको पाइएको छ। पौष महिनामा ५१, मंसिरमा ९० र कात्तिक महिनामा ४१ उजुरी दर्ता भएको कार्यालयको अभिलेख छ।
त्यस्तै चालु आर्थिक वर्षको असोज महिनामा ८२, भदौ महिनामा ८५ र सबैभन्दा बढी साउन महिनामा एक सय ७३ उजुरी कार्यालयमा दर्ता भएका छन्। भाइबर, इमेल, हुलाक सेवा, टेलिफोन तथा लिखित रुपमा उजुरी दर्ता हुनेक्रम बढेको कार्यालयले बताएको छ। हुलाक सेवा र लिखित रुपमा सबैभन्दा बढी उजुरी दर्ता हुने गरेको छ।
संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित विकास निर्माणका योजनामा हुने अनियमितता विरुद्ध सेवाग्राहीले उजुरी दिन थालेपछि अख्तियारले सोहिअनुसार कारबाही समेत अघि बढाउने गरेको छ। सार्वजनिक संघसंस्थाबाट हुने अनियमितता विरुद्ध सेवाग्राही सामुहिक रुपमा विरुद्धमा समेत उत्र्ने गरेका छन्।