पिडितलाई न्याय : आकाशको फल आँखा तरी मर !
विस्तृत शान्ति सम्झौताको १२ वर्ष
सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज १२ वर्ष पुगेको छ। सरकारले २०६३ साल आजकै दिन विद्राही पक्षसँग विस्तृत शान्ति सम्झौता गर्दै युद्ध अन्त्य भएको घोषणा गरेको थियो। २०५१ सालदेखि सुरु भएको सशस्त्र द्धन्द्धका क्रममा सरकार र विद्रोही पक्षबाट गरी १७ हजार बढिले ज्यान गुमाएका थिए। धनगढीकी इन्दु चौधरीका हजुरबुबा, बुबा र कान्छा बुबा पनि त्यही बेला मारिएका थिए। विस्तृत शान्ति सम्झौता भएको १२ वर्षको समयमा सरकारले चार/पाँच किस्ता वाफत राहात स्वरुप पिडितलाई १० लाख रुपैया त दियो तर चौधरीको परिवारले अझै न्यायको अनुभुति गर्न सकेका छैनन्।
सत्य निरुपण तथा वेपत्ता छानविन आयोगले उनको परिवारलाई केस फारम भराएको थियो तर त्यसपछि सरकारी पक्षले वास्ता नै नगरेको इन्दु बताउछिन्। सरकारले बालबालिकाको जिम्मा लिनुपर्ने माग गर्दै आएको पनि वषौँ भइसक्यो तर सुनवाई कहिले हुन्छ त्यो भने अनुउत्तरित छ। सम्झौता भएको १२ वर्ष पुगेपनि द्धन्द्ध पिडितले न्याय नपाउदा युद्धका घाउ निको हुन सकेका छैनन्। १० वर्षे द्धन्द्धका क्रममा परिवारका सदस्य गुमाएकाहरुका आशु अझै नसुकेका हुन्। कैयौँ मानिस वेपत्ता भए भने कैयौं अङ्गभङ्ग भएका छन्। यस्तै द्धन्द्धमा घाइते र अपाङ्ग भएका वा दुबैपक्षबाट चरम यातना पाएकाहरु कष्टकर जीवन बाँचिरहेका छन्।
२०६१ साल फागुन १४ गते कैलालीको मसुरियामा सरकार पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादी विच भएको दोहोरो झडपमा परी लम्कीचुहा नगरपालिका मोतिपुरका प्रेम वयकले मेरुदण्ड गुमाउनुप¥यो। दोहोरो झडपका क्रममा गोली लाग्दा मेरुदण्ड भाचिएपछि वयकले १४ वर्षदेखी कष्टकर जीवन बिताइरहेका छन्। तर उनले अझै न्यायको अनुभुती गर्न सक्नुभएको छैन्। सरकार र विद्रोेही पक्ष तत्कालीन माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष सम्म पिडितका आँसु नरोकिएका हुन्।
सशस्त्र द्धन्द्धका क्रममा परिवारका सदस्य गुमाएकाहरु न्यायका दिन गन्न थालेको वषौँ बित्यो। घाइते र अपाङ्ग भएका वा दुबैपक्षबाट चरम यातना पाएहरु कष्टकर जीवन बाँचिरहेका छन्। ठुलो संघर्ष र बलिदानीबाट आएको गणतन्त्रको महसुस गर्न नसकेका हुन्। सशस्त्र द्धन्द्धमा श्रीमान गुमाएकी कञ्चनपुरकी सीता बोहोराले १७ हजार जनताको रगतको होली खेलेकाहरु सत्तामा पुग्दा पनि न्याय नपाउने विडम्बना भएको बताईन्।
०५२ फागुन १ देखि शुरु भएको माओवादी जनयुद्धको औपचारिक अन्त्य हुँदा ०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यही माओवादी पार्टी विभिन्न चरण पार गर्दै एमालेसँग एकीकृत भइसकेको छ । तर पनि गणतन्त्र स्थापनाका लागि बलिदान दिएकाहरुलाई न्याय दिन कन्जुस्याई भएको हो। सशस्त्र द्धन्द्धका क्रममा कैलालीमा पाँच सय १५ जना सशस्त्र द्धन्द्धका क्रममा दुवैपक्षबाट मारिएका, करिब १ हजार घरपरिवार विस्थापीत पारिएका, १५ जना वेपत्ता, ५१ जना टुहुरा र ११ जना घाइते भएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छ।