जयसिंह बेपत्ता भएको ११ दिनपछि खोजीका लागि महाकालीमा ड्रोन उडाउँदै सरकार
दार्चुला: साउन १५ गते महाकालीमा तुइन तर्ने बेला बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको खोजी कार्य जारी छ। व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामीको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीले लागिरहेका छन्। यस्तै भारतीय सीमा सुरक्षा बल(एसएसबी) समेत उनको महाकाली किनारमा खोजी गरिरहेको छ।
व्यास गाउँपालिका २ मालदेखि महाकाली नगरपालिकाको खलंगा क्षेत्रसम्म सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेको छ। जयसिंहको घटनाबारे छानबिन गर्न आएको टोलीले पनि उनको खोजी भएपश्चात मात्रै फर्कने मनसाय बनाएको छ। समितिले एकपटक ड्रोन क्यामरामार्फत जयसिंहको खोजी गर्ने जनाएको छ।
सरकारले जयसिंहको खोजी गर्न समितिलाई निर्देशन गरेपछि ड्रोन क्यामराको प्रयोग गरेर महाकाली किनारमा उनको खोजी गरिने समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले बताए। साउन १९ गते खलंगा पुगेको छानबीन समिति अहिले पनि दार्चुलामै छ। गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घट्नास्थल निरीक्षण गरि फर्किएको टोली निरन्तर प्रतिवेदन लेखन र सोधपुछ कार्यमा व्यस्त रहेको छ।