सुदूर नेपाललाई विश्वसँग जोड्दै

तुइन प्रकरणः सूचना संकलन गर्दै छानविन टोली, विश्लेषण गरेर रिपोर्ट बुझाउँने

२०७८ साउन २४, ०१:०६ खबर संवाददाता

धनगढीः दार्चुलामा महाकाली नदी तर्ने बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काएपछि ब्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भए। धामी बेपत्ता भएपछि उक्त घटनाको छानविन गर्न गठन गरिएको गुह मन्त्रालयको टोली अहिले दार्चुलामा छ। 

मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार पीडित परिवारसँग भेटघाट गरिरहेको छ। सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ।  

सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छिन्। साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए। 

तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ। घटना छानवीनमा संलग्न समितिले जयसिंह तुइनबाट खसेको घटनास्थल मालघाट नेपाल र भारततर्फबाट अवलोकन गरेका छन्। 

छानविन टोलीले सूचना संकलन गरिरहेको बताएको छ। सरोकारवालासँग सोधपुछ जारी रहेको बताउँदै टोलीका संयोजक गौतमले भने, ‘सूचना संकलन गर्दै छौं, विश्लेषण गरेर चाडै रिपोर्ट बुझाउँछौँ।’ स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताएपनि भारत पक्षले सो घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरिरहेको छ।

कमेन्ट लोड गर्नुस