३ लाखबाट च्याउखेती सुरु गरेका सरोज बने ३ करोडका मालिक
धनगढी: च्याउ व्यवसायी अर्थात च्याउ किसान मोरङको बुढीगंगा गाउँपालिका–७ का सरोज नेपालसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदमराज जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विमर्शको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं।
तपाईंभित्र कृषि क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोच कसरी आउन पुग्यो ?
मैले जबदेखि होस सम्हाले तबदेखि कृषि प्रधान देश भएर पनि होला कृषि क्षेत्रमा नै मोह थियो। केही गर्नुपर्छ भन्ने लाग्थ्यो। मैले गोरु जोत्नुदेखि लिएर हाते ट्याक्टर समेत चलाए। कुखुरा पनि पाले र त्यस्तै भैंसी पालन समेत गर।े तर सोचेजस्तो स्थिति त्यसबाट हुन सकेन।
घरको जेठो छोरा भएकोले आर्थिक जिम्मेवारी ममाथि अझ बढी रहने भइनै हाल्यो र म त्यहीँ जिम्मेवारी पूरा गर्न बिदेश गए। भाई क्रिकेटमा खुब रुची राख्ने भएकोले उसलाई काठमाडांैमा क्रिकेट एकेडेमीमा भर्ना गराएको थिए। त्यहीबेला उसले लोटसबाट च्याउको बिउँ उत्पादन गर्ने विधि सिकेछ। पूर्वतिर त्यो समयमा च्याउको बिउ उत्पादन हुँदैनथ्यो र भारतबाट आयात हुन्थ्यो। उसले यो कुरा मलाई बिदेशमा गएकै बेला भन्यो र, म फर्किए। हामी तीन दाजुभाइ छौँ। च्याउखेतीदेखि च्याउको बीउ उत्पादनमा लाग्यौं। यसरी व्यवसायिक कृषि क्षेत्रको यात्रा सुरु भयो।
च्याउ, च्याउको बिउ कति क्षेत्रफलमा कुन परिमाणमा उत्पादन गरिरहनु भएको छ ?
तीन वर्ष पहिले ३ लाखबाट सुरु भएको व्यावसाय अहिल लगभग ३ करोड बराबर सम्पत्तिको भएको छ। हामीले च्याउ खेती मात्रै एक बिगा ४ कट्ठामा गरिरहेका छौं भने बीउ उत्पादनको लागि तीन तले घर भाडामा लिएर गरिरहेका छौ।
व्यवसाय प्रवद्र्धनका लागि समाज र सरकारहरुको सहयोग के कति भएको पाउनु भएको छ ?
पहिला त म स्वाभावबाट सुरु गर्छु। पहिला आग्रजहरुले आशीर्वाद दिदा भन्नुहुन्थ्यो, ‘डाँडाकाँडा ढाकुन्’। त्यहीँ मनस्थितिले होला १०÷१५ वटा छोराछोरीलाई पनि सामान्य रुपले नै लिने गरिन्थ्यो। अहिले फेरि त्यो परिवेश नरहेपनि आशीर्वाद दिँदा, ‘ठुलो मान्छे बन्नु, राम्रो जागिर पाउनु, राम्रो देशमा जानु’ आदि कुरा भनिन्छन्। तर रोजगारी दिने हुनु, कुनै आफ्नै पेशा व्यावसाय गर्नु, देशमै बस्नु कसैले भन्दैनन्।
यो कुरा मैले किन जोडे भने हाम्रो मनस्थिति कस्तो बनेको छ। कस्तो कुरा हाम्रो मनोभावनामा रहेको छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ। अहिलेको आम व्यवहार पनि यहीँ हो। राजनीतिक कुरा गर्दा हामी जहिल्यै पनि राजनीतिक संक्रमणको अवस्थामा रह्यौँ। र, यसले पूर्वाधार विकासमा र कृषि क्षेत्रको विकासमा खासै प्रगति गर्न सकिएन।
अहिले म कृषिमा छु मैले यो कुरा भन्नुपर्छ। धेरै यस्ता किसान छन् जसले यो सोचाई राख्छन् कि पौरखले होइन अनुदानले सफल भइन्छ। यसबाट के हुन्छ भन्दा त वास्तविक किसानले सरकारबाट सहयोग पाइरहेको हुँदैन। पौरखी किसानले अनुदान नपाउने स्थिति रहन्छ। फेरि समाजको कुरा गर्दा पनि कुनै छोराछोरीले अमेरिका जान्छु या युरोप जान्छु भन्दा २५/३० लाख पनि दिने तर देशमा नै व्यवसाय गर्छु भन्दा सहयोग नहुने स्थित छ। सरकारको पनि के भुल गरिरहेको हुन्छ भन्दा कृषि क्षेत्रमा रोजगार दिने भन्दा पनि अनुदान लिन खोज्नेहरुलाई नै अनुदान दिने। यसले वास्तविक किसानलाई उत्प्रेरित नगरेको र रोजगारी समेत कम सिर्जना गरिरहेको छ जस्तो लाग्छ।
च्याउ किसान संघमा पनि हुनुहुन्छ । यदि नयाँ किसान संघमा जोडिन चाहनुभयो भने के कसरी जोडिन सक्छन ?
यदि नयाँ किसान च्याउ किसान संघमा जोडिन चाहनुभयो भने उहाँले मलाई प्रत्यक्ष सम्पर्क गर्दा पनि हुन्छ। प्रदेश तह लगायत विभिन्न ठाउँहरुमा समिति र सदस्य छन् उहाँहरुसँग सम्पर्क गर्दा पनि हुन्छ। च्याउ किसान संघले हेटौंडामा एउटा पब्लिक कम्पनी खोल्दै छ। जहाँ च्याउका लागि चाहिने कम्पोस्ट मल लगायतका काम कार्वाही गर्नेछ।
पहिला मेची–महाकाली अभियान चलेको थियो। किसानलाई के कस्तो प्राविधिक सहयोग गर्न सकिन्छ भन्ने विषयमा अझै यस्ता अभियान चल्ने छन्। सहज तरिकाले नै किसान संघमा जोडिन सकिन्छन्। अहिले स्थानीय, प्रदेश र संघीय सरकारमा च्याउ खेतिको लागि वातावरण निर्माणको पहल गरिरहेको छ, गरिरहन्छ।