सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सवा ४ लाख नागरिकले पाए कोरोनाविरुद्धको खोप

२०७८ साउन २४, ०८:०० कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४ लाख २० हजार नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो।

प्रदेश सरकारले कोरोना खोप लगाउनुपर्ने नागरिकको तथ्याँक संकलन नगरेको भएपनि झण्डै ८५ प्रतिशत नागरिकले अझै खोप पाउन बाँकी छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले संघीय सरकारले पठाएको खोप प्रदेशका नौँ वटै जिल्लाका नागरिकलाई लगाइएको बताए।

‘संघीय सरकारबाट आएको खोप प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई वितरण गरिएको हो। कार्यालयले स्थानीय तहलाई वितरण गरेर खोप लगाइरहेको छ,’ उनले भने। स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बाजुरामा खोप अभियान जारी रहेको बताए। ‘लक्षित समूहलाई खोप लगाउन थालिएको छ,’ उनले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाउन निर्देशन दिएको थियो। भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाउन निर्देशन दिइएको थियो।

यस्तै जोनोसेन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्र्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने भनिएको थियो। तर उक्त समूहका नागरिक सबैले भने अझै खोप पाएका छैनन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस