तुइन प्रकरण छानबिनमा गएको टोलीले मालघाटमा किन लग्यो एसएसबी ?
धनगढीः महाकालीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न बिहीबार घटनास्थल गएको टोली फर्किएको छ। भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन समितिको टोली केहीबेर अघि जिल्ला सदरमुकाम खलंगा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।
छानविन समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्। छानबिन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टपनि घटनास्थलतर्फ गएको सहायक प्रजिअ जोशीले बताइन्।
टोलीसँगै भारतको डिडीहाटका भारतीय सीमा सुरक्षा बल (एसएसबी)कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी पनि घटनास्थलमा गएका छन्। स्थानीयले भारतीय एसएसबीकै कारण घटना भएको आरोप लगाईरहेका बेला उनीहरु टोलीसँगै गएका हुन्। भारतीय एसएसबीको टोलीलाई किन लगियो भनेर दिनेशखबरले सहायक प्रजिअ जोशीसँग प्रतिक्रया माग्दा उनले सहजीकरणका लागि एसएसबीका अधिकारीलाई लगेको बताएकी छन्।
यस्तै टोलीमा कुनैपनि पत्रकारलाई समावेश नगाएको र कयामेरासमेत बोक्न नदिईएको बताईएको छ। माथिको आदेश भन्दै एसएसबीले धार्चुला पुलघाटबाट पत्रकारलाई फर्काएको र दोस्रो पटक जान दिने सहमति भएपनि क्यामेरा बोक्न नदिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले बताए।
गत साउन १५ गते व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो। बेपत्ता धामी अझै फेला परेका छैनन्।
घटनास्थलमा नाराबाजी
एसएसबीले तुईन काटेको घटनाको छानबिन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको टोलीविरुद्ध घटनास्थलमा नाराबाजी गरिएको छ। भारतको बाटो भएर घटनास्थलतर्फ गई घटनाको छानबिन गरिरहेको भन्दै स्थानीय र नेकपा विप्लवको ३०÷३५ जनाको टोलीले घटनास्थलमै गएर नाराबाजी गरेका हुन्। भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानबिन टोली भारतको बाटो भएर गएको भन्दै घटनास्थलको नेपाल तर्फको महाकाली नदी किनारमा नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले जानकारी दिइन्।