तँ किन विदेश नउडेको ?
-अनिल लामा
अहिलेको समयमा हाम्रो देश नेपालमा पनि छोराछोरीलाई विदेश पढ्न वा कुनै काममा पठाउनका लागि निकै होडबाजी चलेको देखिन्छ र देखिएको छ। अझ यूरोप, अमेरिका, अस्ट्रेलिया, जापान जस्ता देशमा छोराछोरी भएका अभिभाकहरुको भुइँमा खुट्टा नभएको जसरी आफूले आफूलाई निकै ठूलो ठान्ने गरेका छन्। उनीहरुले आफूलाई समाजको एक प्रतिष्ठित र गन्यमान्य व्यक्तिको रुपमा साथसाथै पैसावाला र धनवाला अभिभावक ठान्ने गरेका छन्।
आजभन्दा ५ वर्ष आगाडि मैले पनि स्नातक तह अर्थात् बीए तहको अध्ययन पूरा गरिसकेको थिए। र, सानोतीनो आफूलाई खर्च पुग्ने जागिर पनि खाएको थिए। मेरा साथीहरु विदेशको लागि तयारी गर्दैथिए। कोही कामको लागि, कोही अध्ययनको लागि अनि कोही घुमघामको लागि तयारी गर्दै थिए। मलाई पनि बेलाबेलामा भन्थे ‘त पनि विदेश जान तयार गर्न, यो नेपालमा बसेर केही फाइदा छैन, नेपालमा न त हाम्रो पढाईको कदर छ, न त हाम्रो क्षमता अनुसारको जागीर पाहिन्छ, जुनसुकै क्षत्रमा पनि राजनीति पहुँच भएकाले मात्र राम्राराम्रा ठाउँमा जागीर खान्छन् र नातावाद र कृपावाद मात्र चल्छन्।’
यस्तो अवस्थामा के नेपाल बस्नु बरु खुरुक्क विदेश गइयो, दुई–चार बर्ष बसियो टन्नै पैसा कमाएर आइयो त्यसपछि हेर्त हाम्रो शान भनेर साथीहरुले मलाई भन्थे। म साथीहरुको कुरा मात्र सुन्थे र प्रतिउत्तरमा केही बोल्दैनथे, मात्र उनीहरुको कुरा सुनिरहन्थे।
हुन् त मलाई पनि मेरा इस्टमित्र, साथीभाइका आमाबुबाले भेटघाट भएको बेलामा ‘मेरो छोराछोरीले महिनामा यती पैसा पठाउछ, उति पैसा पठाउँछ, धेरै ठाउँमा जग्गा किनिसक्यो अनि हामीलाई पनि विदेश घुमाउन लागिसक्यो वा हामी पनि अब घुम्न जादैछौ’ भनेर मलाई सुनाउनु हुन्छ।
उहाँहरुले आफ्ना छोराछोरीलाई भनेर भीसा तथा उता गइसकेपछि कामको व्यवस्था गर्न भनिदिने समेत बताउँनुहुन्छ। जब ती शब्द अनि वाक्यहरु मैले उहाँहरुको मुखार बिन्दुबाट सुन्छु अनि मलाई लाग्छ संसारको सबैभन्दा अभागी त मै पो रहेछु र उहाँहरुको छोराछोरीको अगाडि त म एउटा बेरोजगार र काम नलाग्ने मान्छे पो कहलिएको रहेछु।
साथीहरूलाई सम्झने र साथीभाइहरुसँग कुरा गर्ने क्रममा अस्ति सामाजिक संजालमार्फत मार्फत कोरियामा रहेको साथीसँग कुरा गर्ने मौका मिलेको थियो। सुखदुःख साटासाट गर्ने अवसर पनि जुटेको थियो। कुराकानीको अन्त्यमा उसले मलाई भन्यो ‘साथी विदेश भनेको विदेश नै हुँदो रहेछ, यहाँ एउटा नेपालीले अर्को नेपालीलाई चिन्दैन र विदेशमा त पैसाको रुख हुँदैन रहेछ।’ यती भनेर उ मबाट अलप भयो। सायद उ काममा वयस्त भएको हुनाले होला। त्यो दिनदेखि उसँग मेरो कुराकानी पनि भएको छैन।
के हामी नेपालीहरुको अन्तिम विकल्प विदेश नै हो त ? के हामीले आफू बसेको समाजमा हाम्रो परिचय दिन अनि चिनाउनको लागि बिदेशमा गएर पैसा कमाएर घर ठड्याउनुपर्ने हो त ? अनि देखावटी रुपकै लागि भएपनि आफ्नो क्षमताले भ्याएसम्म भन्दा बढी गरगहना, सुनचाँदी, हिरामोतीले हाम्रो शरीर ढाक्न पर्ने हो त ?
हुन त म कुनै नाम चलेको लेखक, पत्रकार, ब्लगर र व्यंगकार होइन। यसो आफ्नो मनमा लागेका र मनमा गुम्सिएका कुराहरु यस लेखमार्फत प्रस्तुत गर्न मन लागेको हुनाले र खाली समयको सदुपयोग गर्नमात्र खोजेको हुँ।
हाम्रो नेपाली समाज र नेपाली समाजको कोही कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ, धन्यवाद।