दार्चुलाको व्यासमा तुइन तर्दा २६ जनाले ज्यान गुमाए, भारतले बनाउन दिदैन पुल
वीरेन्द्र भट्ट, धनगढीः पहिलोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै २०७२ असोजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन, साँघु र फट्केलाई विस्थापित गरेर ती स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरे।
तर निर्णयमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा समेत दुर्गम क्षेत्रका दर्जनौ तुइन विस्थापित नहुँदा दार्चुलाको व्याँस गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी जस्ता कयौँ स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ।
धामीसहित तुइन तर्दातर्दै २०५० सालदेखि अहिलेसम्म व्याँस गाउँपालिका वडा नम्बर २ र ४ का गरि २६ जनाको ज्यान ज्यान गइसकेको छ। गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढाथोकीले हालसम्म तुइन तर्दा २ वडाका मात्रै २६ जना स्थानीयले ज्यान गुमाएको बताए। तर पनि उक्त क्षेत्रमा पुल नबनेको उनको गुनासो छ।
दार्चुलावासीको एउटै माग तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपनि संघ र प्रदेश सरकारले वेवास्ता गर्दै आएको वडाअध्यक्ष बुढाथोकीले बताए। ‘नागरिकता बनाउनु पर्यो भने फोटो खिच्न जिल्ला सदरमुकाम तुइनकै सहारामा जानुपर्ने बाध्यता छ’ उनले भने।
पुल निर्माणका लागि वर्षौदेखि यहाँका स्थानीयले ज्ञापनपत्र केन्द्रदेखि प्रदेशसम्म बुझाउँदै आएका छन्। तर कहिकतैबाट सुनुवाई नै नभएका कारण धामीजस्ता दर्जनौ स्थानीयले अकालमै ज्यान गुमाउनु परेको प्रवक्ता बुढाथोकीले बताए।
दार्चुलाको राप्लास्थित दुम्लिंग, माल, रिठान, सुन्सेराको बर्तीबगड मलघट, मडगाउँ, धौलाकोटको स्याकु, डोकट, स्पागधा र हुतीको कालागाड गरेर १० स्थानमा महाकाली नदीमाथि तुइन सञ्चालनमा छन्।
झोलुङ्गे पुल नहुँदा सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका ठूला साना नदी तथा खोला तर्नका लागि स्थानीयले तुइन, फड्के र साँघुको प्रयोग गर्दै आएका छन्। दार्चुला पारी रहेको नेपाल–भारत सीमावर्ती बजार धारचुला ओहरदोहर तुइनकै भरमा गरिन्छ। जिल्लाको राप्ला, सुन्सेरा, धौलाकोट र हुतीका स्थानीयले तुइनको प्रयोग गरी दैनिकी चलाउने गरेका छन्।
तर सरकारी पक्षले भने प्रदेशभित्र पहिचान भएका ३१ स्थानमध्ये २७ स्थानको तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माण गरिएको दाबी गरेको छ। सीमा क्षेत्रका १२ स्थानमा तुइन विस्तापित गरेर झोलुङ्गे पुल निर्माणका लागि बोलपत्र समेत आह्वान गरिसकेको अवस्थामा भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै ६ स्थानमा मात्र सहमति दिएको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको डोलीडारका सिनियर डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठ बताउँछन्।
दार्चुलामा बाकु र बडु गाउँमा निर्माणाधिन झोलुंगे पुल करिब ९० प्रतिशत पूरा भइसकेको छ। दार्चुलाकै महाकाली तर्ने बरती र माल झोलुंगे ३० प्रतिशत मात्रै सम्पन्न भएको छ। भारततर्फ पनि निजी जग्गा पर्ने र जग्गा प्राप्तिमा धेरै समय लागेका कारण यतिका धेरै समय लाग्न गएको इन्जिनियर श्रेष्ठको भनाई छ।
‘सीमा क्षेत्रमा १२ वटा पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो, तर भारतले पञ्चेश्वर महाकाली लगायत ६ वटा पुलका लागि मात्र सुरक्षाको कारण देखाउँदै सहमति दिएकाले बोलपत्र आह्वान नै रद्द गर्नुप¥यो’ उनले भने। ४ स्थानमा झोलुङ्गे पुल निर्माणको काम भइरहेकाले पुष महिनाभित्रै सम्पन्न हुने उनको दाबी छ।
उक्त विषयमा मुख्यमन्त्री त्रिलोचन भट्टसँग जिज्ञासा राख्न खोज्दा एक घण्टापछि प्रतिक्रिया दिने बताएका थिए। तर एक घण्टापछि पटक–पटक सम्पर्क गर्दा पनि मुख्यमन्त्रीको फोन उठेन।