सुदूर नेपाललाई विश्वसँग जोड्दै

जय नेपाल क्रिकेट प्रतियोगितामा लाल सलाम खेलाडी

२०७५ मंसिर २, ०७:२० नरेन्द्र कार्की

दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । अपी चौलानी सृजनशिल युवा क्लव महाकाली नगरपालिका दार्चुलाको आयोजनामा पहिलो पटक जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा लाल सलाम क्रिकेट टिमले भाग लिएपछि प्रतियोगिता रोमाञ्चक बनेको छ । कुल १३ टिमले सहभागिता जनाएको सो प्रतियोगितामा लाल सलाम क्रिकेट टिम खलंगा दर्ता भएको छ । संयोगबस आईतबार नेपाल विद्यार्थी संघ र लाल सलाम खलंगाबीच भएको क्रिकेट प्रतियोगितामा लालसलाम खलंगाले विजयी शुरुवात गरेको छ । दुई पार्टीका खेलाडी बीच भएको प्रतियोगिताले झनै राजनीति सरगर्मी तताएको थियो ।


राजनीतिक रुपमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको भन्दै लालसलाम टिम राख्नु परेको खेलाडीले बताएका छन् । क्रिकेट जस्तो खेलमा राजनीति घुसाएपछि प्रतिकारस्वरुप लालसलाम राखिएको एक खेलाडीले बताए । प्रतियोगितामा दार्चुलाका ९ तथा बैतडीका चार वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत आइतबारसम्म मल्देश र शैल्यशिखर बालक्लव बीच भएको खेलमा मल्देश बीजयी भएको छ । यस्तै केदारनाथ र डाडाबाग बीच भएको खेलमा केदारनाथ विजयी भएको छ । व्यास र परोपकार फाउण्डेशनबीच भएको खेलमा व्यास अनुपस्थित भएपछि परोकापकार विजयी भएको आयोजक युवा क्लवका अध्यक्ष रमेश भट्टले बताए । प्रतियोगिता अन्तर्गत सोमबार चम्तडी र मालिकार्जुन, सुसितम र समौर्ली तथा बस्कोट सुपरकिङ र महाकाली नगरपालिका बीच हुने आयोजकले जनाएको छ ।

 

दार्चुलाका नेपाली काग्रेंसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो । जिल्लाकै सर्वाधिक धनराशीमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टिमलाई नगद एक लाख एक हजार एक सय ११, द्धितीय टिमलाई नगद ६१ हजार एक सय ११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै हरेक खेलका म्यान अफ द् म्याच पाँच हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । स्थानीय सरकारको सहयोगमा सञ्चालन भएको खेलमा जय नेपाल क्रिकेट प्रतियोगिता नाम राखिएको भन्दै नेकपा नेताहरुले समेत आपत्ति जनाएका छन् । नेपाली काग्रेंस र भातृ संगठन मार्फत जिल्लामा राजनितिक दुरी बढाउन खोजेको नेकपाको आरोप छ ।

 

आयोजकले भने जय नेपाल क्रिकेट प्रतियोगिता कागं्रेसको सुभचिन्तक भएकै कारण नराखिएको दावी गरेको छ । क्लवका अध्यक्ष भट्टले भने– अहिलेको युग सुहाउँदो र नयाँ नेपालको नारा सहितको नारा राखिएको हो । यसमा पार्टीकरण भयो भनेर नभनौ । जिल्ला खेलकुद विकाससँग सम्झौता र सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिएको छ । यसमा पार्टीकरण भएको छैन् । उद्घाटन शत्रमा सबै स्थानीय तह, नेकपाका नेताहरुलाई पनि आमन्त्रण गरिएको हो । 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस