सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा नेपाली स्वाभिमान बग्दा सुदूरपश्चिम सरकार चिर निन्द्रामा

२०७८ साउन १८, ११:५४ खबर संवाददाता

धनगढी: तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको अवस्था अज्ञात छ। भारतीय सुरक्षा बल एसएसबीले तुइन फुकाउँदा धामी बेपत्ता भएको स्थानीयको आरोप छ। घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले पाँच सदस्यीय टोली गठन गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थल पुगेर फर्किएको छ। घटनाको देशभरी विरोध भइरहेको छ। भारतको चर्को आलोचना पनि हुन थालेको छ। 

तर दार्चुलामा नेपाली बग्दासमेत प्रदेश सरकार चिर निन्द्रामा छ। न मन्त्री बोलिरहेका छन् न त सासंद नै। प्रदेश सरकारले आफ्नो अभिव्यक्तिसमेत सार्वजनिक गर्न सकेको छैन। यसबारे आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भने अब बस्ने प्रदेश मन्त्रिपरिषद्को बैठकबाट बेपत्ता धामीको परिवारलाई आवश्यक राहत दिने निर्णय गरिने बताएकी छन्।

एक जना नागरिक, भारतीय एसएसबीको कारण महाकालीमा बगेर बेपत्ता हुँदा समेत प्रदेश सरकार बेखबर जस्तै किन देखियो भन्ने जिज्ञासामा मन्त्री जोशीले प्रदेश सरकारको ध्यानाकर्षण भएको बताइन्। 

घटनाबारे जानकारी पाउनासाथ दार्चुला प्रशासनबाट बुझ्ने काम गरेकोे मन्त्री जोशीले बताइन्। ‘संघीय गृह मन्त्रीसँग घटनाको विषयमा कुरा गर्न खोजेकी थिए तर मन्त्रीजीको फोन उठेन’ उनले भनिन्, ‘यो विषयमा प्रदेश प्रहरी प्रमुख तथा जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखसँग संवाद भइरहेको छ। सीमा सम्बन्धी विषय प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकोले यो विषयमा थप कामकारबाही संघीय सरकारले नै हेर्नुपर्छ।’ 

दार्चुला घटनाबारे छानविन गर्न सरकारले गठन गरेको छानविन समितिमा प्रदेश सरकारको कुनै अधिकारी नराखिएकोबारे असन्तुष्टि राख्दै मन्त्री जोशीले छानविनपछि आउने प्रतिवेदनका आधारमा प्रदेश सरकारले मृतक धामीको आश्रित परिवारको शिक्षा तथा जिविकोपार्जनका लागि प्रदेश सरकारले निर्णय गर्ने बताइन्। 

साउन १५ गते वैदेशिक रोजगारीका लागि काठमाण्डौं जाने क्रममा ब्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। बेपत्ता धामीको परिवारमा श्रीमतीसहित नाबालक एक छोरा र छोरी रहेका छन्।

  
 

कमेन्ट लोड गर्नुस