सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सक दम्पतीले दिए निःशुल्क विशेषज्ञ सेवा

२०७८ साउन १८, ११:३७ रासस

सुर्खेत: कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्क रुपमा डाक्टर दम्पतीले सेवा दिन थालेका छन्। 

लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच सुरु गरेका छन्। बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाउँमा निःशुल्क दिन थालेका हुन्। आफूले सिकेको ज्ञानलाई थोरै भए पनि केही अंश सामाजिक सेवामा लगाउने उद्देश्यले निःशुल्क सेवा दिने गरेको हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठले बताए।

आफूले काम गर्ने शुल्कसहितको सेवालाई कम गरेर सामाजिक सेवावापत निःशुल्क सेवा दिन सुरु गरेको श्रेष्ठको भनाइ छ। सामान्य स्वास्थ्य सेवा लिन पनि बजार जानुपर्ने अवस्था अन्त्य गर्न गाउँमा विशेषज्ञ सेवा सुरु गरेको उनले बताए। लाटीकोइलीमा विशेषज्ञसहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाइ छ।

स्वास्थ्यचौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्करुपमा निरन्तर दिने श्रेष्ठले जानकारी दिए। वीरेन्द्रनगरको देउती अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा स्त्रीरोग विशेषज्ञ डा थापा कार्यरत छन्।

कमेन्ट लोड गर्नुस