सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला घटनाबारे भारतीय पक्षसँग जानकारी माग्न एमालेको माग

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १८, ०९:१३ खबर संवाददाता

काठमाडौँ: दार्चुला घटनाबारे भारतीय पक्षसँग जानकारी माग्न नेकपा एमालेले सरकारसँग माग गरेको छ।

आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले स्थायी कमिटी बैठक बसेको थियो। बैठकले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे भारतीय पक्षसँग जानकारी माग्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

‘दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिँदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छु’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यही साउन १४ गते व्याँस गाउँपालिकाको मालघाटमा तुइन तर्दै गर्दा सोही गाउँपालिकाका ३५ वर्षीय धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी काटेको हुँदा धामी बेपत्ता भएको बताएका छन् भने भारतीय पक्षले एसएसबीको कुनै संलग्नता नरहेको भन्दै नेपाललाई पत्र पठाइसकेको छ।

कमेन्ट लोड गर्नुस