सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वर्षाै पुरानो सिँचाइ कुलो पनि अतिक्रमणको चपेटामा

२२ मिटरको जाई–जाली कुलो ८ मिटरमा झर्‍याे

२०७८ साउन १७, ०६:१३ कमल सावद

धनगढीः धनगढी बजार क्षेत्रका खोलानाला, कुलो र ताल अतिक्रमण गरि भौतिक संरचना निर्माण गरिएका बेला ग्रामीण क्षेत्रका कुलो समेत अतिक्रमणको चपेटामा परेका छन्।  धनगढीको जाई–जाली सिँचाई कुलोमा अतिक्रमण हुँदै आएको छ। अतिक्रमणकारीको निसानामा रहेको सिँचाई कुलोमा प्रदेश सरकारले झण्डै ९ करोडको योजना कार्यान्वयन गरेको छ। 

धनगढी उप–महानगरपालिका वडा नम्बर ६ र ११ मा पर्ने जाई–जाली कुलोको सबैभन्दा बढी चौडाई २२ मिटर छ। नापी कार्यालय कैलालीको तथ्यांकमा कुलोको चौडाई २२ मिटर भएपनि कुलो ८ मिटर भन्दा कममा झरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले पक्की कुलो निर्माण गर्दा चौडाई समेत घटाएको हो। 

जाई–जाली सिँचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौधरीले कुलो अतिक्रमणमा परेको बताए। ‘२०/२५ वर्ष पहिले कुलो २२ मिटरको थियो। पानी ठूलै आउथ्यो। अहिले दाँयाबाँया कुलो अतिक्रमण भएर पुरियो’ उनले भने। 

प्रदेश सरकारले पक्की कुलो निर्माण गर्दा व्यक्तिको नाममा रहेको भन्दै बिरोध समेत भएको थियो। जाई–जाली कुलोको सिँचित क्षेत्रमा जग्गा प्लटिङ गर्दै बिक्रि वितरण हुँदै आएको छ। जाली क्षेत्रमा जमिन प्लटिङ्ग गर्दै घर निर्माण गरिएको स्थानीय बुझवा चौधरीले बताए। 

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ र ११ मा पर्ने जाई–जाली सिँचाई कुलो १० र १६ नम्बर कित्तामा छ। उत्तरमा कुलोको चौडाई कम भएपनि दक्षिणमा २२ मिटरसम्म छ। तर अहिले कुनै पनि ठाउँमा २२ मिटर चौडाईको नरहेको स्थानीय बताउँछन्। 

यता वडाध्यक्ष भागीराम चौधरीले कुलो अतिक्रमण नभएको दाबी गरेका छन्। २२ मिटर चौडाईको कुलोमा ७÷८ मिटरमा मात्र कुलो निर्माण गरिएको उनले बताए। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस