सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलिया–गौरीफन्टा सडक खण्ड निर्माणको काम सुरु भएसँगै आवतजावतमा सहजता हुने अपेक्षा

२०७५ मंसिर २, ०३:४२ सीताराम ओझा

कैलालीको त्रिनगर नाकासम्म जोड्ने भारतको उत्तर प्रदेशको लखीमपुर हुँदै पलिया–गौरीफन्टा सडक खण्ड निर्माणको काम सुरु भएसँगै आवतजावतमा सहजता हुने अपेक्षाल गरिएको छ । अहिल गौरीफन्टादेखि पलियासम्मको वेहाल सडक खण्डका कारण आवतजावतमा निकै समस्या हुँदै आएकोमा सडक निर्माणपछि त्यो समस्यावाट छुटकारा पाउने आशा गरिएको छ । नेपाल र भारतका नागरिकहरुलाई आवतजावत गर्नका लागि सडक कालोपत्रे भएमा बिना झन्झट ओहोर दोहोर गर्न सकिनुका साथै दुधुवा नेशनल पार्कसम्म पुगेका पर्यटकहरुलाई बिना झन्झट सुदुरपश्चिम प्रदेश भित्र्याउन सकिने जानकारहरु बताउँछन् । 

दुधवा राष्ट्रिय निकुञ्जका कारण गौरीफन्टा नाकाको स्तरोन्नती हुन नसकेको चर्चा चलेका बेला भारतले दुधवा–गौरीफन्टा सडक स्तरोन्नतिको कामले तिव्रता पाएको हो । पलियामा रहेको राष्ट्रपति पार्कमा उत्तर प्रदेश लखीमपुर सांसद अजय मिश्र टेनी महाराजको सांसद विकासको रकमबाट सडक स्तरोन्नतिको कामले तिव्रता पाएको हो । गत साउनको अन्तिम साता शिलान्यास गरिएको सडकलाई चार महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुधुवादेखि गौरीफन्टासम्मको २० किलोमिटर सडक निर्माणमा झण्डै १७ करोड ८९ लाख भारतीय रुपैयाँ अर्थात २८ करोड ६२ लाख ४० हजार नेपाली रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माणको कामलाई गति दिईएको एक जना पत्रकार राजीव गुप्ताले बताए । 

गौरीफन्टाको डिगनिया चौराहादेखि पलियासम्मको सडकको चौडाई सात मिटरको हुने छ । दुधुवा नेशनल पार्कको २० किलोमिटरसँगै गौरीफन्टादेखि लखीमपुरसम्मको ६६ किमी सडकको निर्माणमा भने दुई सय ५१ करोड भारतीय रुपैयाँ अर्थात चार अर्ब एक करोड ६० लाख नेपाली रुपैयाँमा सम्झौता गरिएको छ । चन्दनचौकी—सुडा र लखिमपुर—पलिया सडक चार लेनको निर्माण हुनेछ भने दुधुवा गौरीफन्टा जोड्ने अहिलेको सडकभन्दा थप एक मिटर चौडा हुनेछ । गौरीफन्टा भन्सारदेखि झन्डै ३६ किलोमिटर दूरीमा रहेको भारतको पलिया र २ किलोमिटर दूरीमा रहेको धनगढी जोड्ने सीमावर्ती अन्तराष्ट्रिय सडक स्तरोन्नतीको काम सम्पन्न भएमा दुवै देशले त्यसको लाभ उठाउन सक्ने नेपाल चेम्बर अफ कमर्श कैलालीका अध्यक्ष मोहनराज शर्माले बताए । 

एसियाको दोस्रो ठूलो दुधुवा नेसनल पार्क रहेको गौरीफन्टा नाका सहज बनाउन विभिन्न प्रयास भए पनि जंगल र वन्यजन्तुको सुरक्षाको विषयले पेचिलो बनेका बेला यसलाई स्तरोन्नतिको काम भईरहेको छ । सन् १९०५ देखि सञ्चालनमा आएको सीमावर्ती पलिया–गौरीफन्टा रेलमार्ग र सडक मार्ग दुधुवा नेसनल पार्कका कारण भारत सरकारले ८९ वर्षपछि १९९४ मा बन्द गरेपछि अहिले आएर सडकको स्तरोन्नतिका लागि काम थालेको हो । सडकको दुधुवा—गौरीफन्टा सडकको निर्माणले सुदुरपश्चिम प्रदेशका उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई व्यापार तथा आवागमनमा अत्यन्त सहज हुनुका साथै सुदुरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सकिने देखिएको नेपाल भारतमैत्री संघका अध्यक्ष हरिशंकर ठाकुरको भनाई छ । 

दुधुवा—गौरीफन्टा सडक अत्यन्त जिर्ण भएका कारण अहिले यस मार्गमा आवातजावत गर्न निकै कठिनाई हुने गरेको छ । दुधवा–गौरीफन्टा सडक भत्किएर नाजुक अवस्थामा रहेको छ भने निकै साघुँरो पनि छ । अस्तव्यस्त सडकका कारण दिनँहु दुर्घटना समेत हुने गरेको छ । दुधवा राष्ट्रिय निकुञ्जकका कारण गौरीफन्टा नाकाको स्तरोन्नति हुन नसकेको चर्चा चलेका बेला भारतले दुधवा–गौरीफन्टा सडक स्तरोन्नतीका कालोपत्रेको काम भईरहेको छ । अबको केही महिनामा आवतजावत सहज हुनुका साथै उत्तर प्रदेशको एक्लो राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरुलाई पनि सुदुरपश्चिम प्रदेशमा भित्र्याउन सकिने पत्रकार गुप्ताले बताए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस