सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षाै अगाडिको विद्युत संरचना फेरिएन, पटकपटक जान्छ बिजुली

२०७८ साउन १६, १०:३० कमल सावद

धनगढीः नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदिश जोशीले सेवा सुरु गरेको २५ वर्ष भयो। धनगढीको विद्युत विस्तारको समय उनलाई सम्झना छैन। उनले विद्युत प्राधिकरणमा सेवा सुरु गरेदेखि केहि क्षेत्रमा मात्र विद्युत लाईन तथा संरचना फेरिएका छन्। ‘धेरै ठाउँका संरचना पुरानै हुन्,’ जोशी भन्छन्, ‘धनगढीमा बजार बिस्तार हुँदै गयो। तर विद्युतिय सेवा सोअनुसार बिस्तार भएन्। नयाँ सवस्टेशनका लागि योजना बनाउदै छौ।’

धनगढीमा पुराना संरचनाका कारण पटकपटक विद्युत सेवा अवरुद्ध हुँदै आएको उनले स्वीकारे। धनगढीको जनसंख्या न्यून रहेको समयमा बिस्तार गरिएको विद्युत लाइनमा सुधार नभएकाले समस्या हुँदै आएको हो। विद्युतको माग बढेको भएपनि संरचनामा सुधार नभएकाले पटकपटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ।

वि.स २०३०/०३२ सालमा धनगढीमा विद्युत विस्तार गरिएको थियो। प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जोशीले भने, ‘लोड बढेर पुरानो तार टुटेर खस्छ। तार पग्लिन्छ पनि। पुराना उपकरणले लोड धान्न नसक्ने पनि समस्या छ।’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सेनाले प्रदेशको अस्थायी राजधानीमा विद्युत मर्मतको नियमित कार्यक्रम रहेको बताउँछन्।

तर नयाँ योजनाको बिषयमा जानकारी नभएको उनले बताए। धनगढीको सवस्टेसन, अत्तरिया सवस्टेसन लगायतका स्टेसन मर्मतको काम भने भएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस