ऐतिहासिक जोलजिवी मेला सुरु
नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थलमा सरकारी पहलमा पहिलो पटक सदियौ पूरानो ऐतिहासिक जोलजिवी मेला सुरु भएको छ। मालिकार्जुन गाउँपालिकाको आयोजनामा पहिलो पटक ऐतिहासिक महत्व बोकेको जोलजिवी मेला एवं महोत्सव सुरु भएको हो।
तिन देशको संस्कृति देख्न सकिने जोलजिवी मेला व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। पहिलो पटक स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लागि भन्दै महोत्सवको आयोजना गरिएको हो। उक्त ऐतिहासिक जोलजीवि मेला एवं महोत्सवको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरिन्।
मेला सुरु हुन थालेको एक सयौ बर्षौ पूरानो इतिहासलाइ जिवन्त राख्न मेला एवं महोत्सवको आयोजना गरिएको हो। मेला एवं महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टले ऐतिहासिक संस्कृति र पर्यटकीय क्षेत्र पहिचानको लागि प्रदेश सरकारले सहयोग गर्ने बताइन्। उनले भनिन्, यस क्षेत्रको पौराणिक संस्कृति धार्मिक पर्यटकीय क्षेत्रको लागि मैले गर्ने सहयोग पूर्ण रुपमा गर्छु। ऐतिहासिक एवं मालिकार्जुनको पवित्र धर्तीमा कसम खाएर भन्छु म दार्चुलाको विकासको लागि गर्न सक्ने सहयोग गर्छु। मालिकार्जुन मन्दिर र अपी नाम्पा संरक्षण क्षेत्र पर्यटकीय गन्तव्य सूचीमा परिसकेको छ। अझै चार पाँच ठाउँ नयाँ सम्भावनाको रुपमा अगाडि बढाउँछु। झन राष्ट्को सातौ धाम रहेको मालिकार्जुन मन्दिर, उकु महल भग्नाशेष लगायत यहाँको भाषा संस्कृति संरक्षणमा सहयोग रहन्छ उनले भनिन्। ऐतिहासिक मेला महोत्सवमा उत्पादन भएका सामाग्री राख्न सके अझै भारतीय नागरिकलाई आकर्षण गर्न सकिन्छ, उनले भनीन्।
उनले जौलजीविमा विगत देखि झोलुंगे पूल मात्रै भएको भन्दै यसै साता काठमाण्डौमा हुन लागेको भारत उत्तराखण्डको पर्यटन मन्त्रीसँग पूल निर्माणको विषयमा छलफल चलाउने बताइन्। मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले ऐतिहासिक रुपमा मनाइदै आएको जौलजीवि मेला महोत्सवलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएर मनाउन माग गरे। पहिलो पटक स्थानीय सरकारले प्रयास गरेका छौ। उनले भने, आगामी दिनमा प्रदेश सरकारमार्फत ऐतिहासिक मेला महोत्सव सञ्चालन गर्नुपर्छ। छिमेकी भारतीय बजार जौलजीविमा सन् १९७५ बाटै सरकारीस्तरबाट मेलाको आयोजना भइरहेको स्मरण गराउँदै नेपालको जौलजीविमा लाग्ने मेला अब प्रदेश सरकारले मनाउनुपर्नेमा उनले जोड दिए।
१८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजीवि मेलाको सुरुवात गरेको इतिहास छ। जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ। विगतमा पूर्खाहरुले लगाउँदै आएको पहिरन, भाषा संस्कृति र यस क्षेत्रमा रहेका धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा मनाउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ आगामी नेतृत्वगर्न मालिकार्जुनबासीले माग गरेका छन्।
यस क्षेत्रमा कालो नुन, गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको स्थानीय ८० वर्षीय कालु चन्दले बताए। पहिलो पटक सरकारले मेला लगाउँदा खुसी भएका छौ, उनले भने, जहिल्यै भारतमा मेला हेर्न जानुपर्ने बाध्यता हटेको छ।
त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जौलजीवि मेला विगतमा जुम्ली घोडाको लागि प्रख्यात मानिन्छ। नेपाली नागरिकहरुले मेलामा घिउ, मह, निगालोजन्य सामग्री तथा कृषि उत्पादन मेलामा विक्री गर्दैआएका छन्। जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोकेन्द्रसिह धामीले बताए।
गाउँपालिकाभित्रको भाषा संस्कृति र पर्यटन विकासको लागि गाउँपालिकाले लगाएको मेला एवं महोत्सव मंशिर ५ गते सम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत हरसिह साउँदले बताए। मेला एवं महोत्सवमा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरा जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष एवं कलाकारहरुको सहभागिता रहेको छ।